राजनीति

अपुग कर्मचारी पनि यही आर्थिक वर्षमा पूरा हुन्छ : मन्त्री पण्डित



काठमाडौँ, १७ चैत । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीनै तहको सरकारमा आवश्यकमात्रामा अपुग कर्मचारी पनि यही आर्थिक वर्षमा पूरा हुने बताउनुभएको छ ।

ललितपुरस्थित आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै उहाँले समायोजन सकिएकाले नयाँ कर्मचारी भर्नाको प्रक्रिया शुरु गर्न लोकसेवा आयोगलाई निर्देशनसमेत दिइसकेको जानकारी गराउनुभयो ।

उहाँले अपुग कर्मचारीको भर्ना गरी अब मुलुकमा मानवीय स्रोत साधनको कमी हुन नदिनेसमेत बताउनुभयो । उहाँले भन्नुभयो, “अपुग कर्मचारी पनि यही आर्थिक वर्षमा पूरा गर्ने उद्देश्यका साथ दु्रतमार्गबाट भर्ना गर्न आयोगलाई भनेका छौँ, नयाँ कर्मचारीको पदस्थापना पहिलो प्राथमिकता स्थानीय तह र प्रदेशमा रहन्छ ।”

उहाँले समायोजन भएका कामलाई बाधा नपुग्ने गरी कर्मचारीलाई असारमसान्तसम्म पदस्थापना गरिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “कानूनीरुपमा समायोजन सकिएको २१ दिनभित्र पदस्थापना गर्ने व्यवस्था रहेको छ, अहिले विकास निर्माणको काम भइरहेको छ । त्यसैले कामलाई बाधा नपुग्ने गरी असार मसान्तभित्रमा पदस्थापना गर्दछौँ ।”