राजनीति

सञ्चार क्षेत्रलाई नियन्त्रण होइन, नियमनका लागि कानूनी प्रबन्ध : मन्त्री बाँस्कोटा



काठमाडौँ, १७ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने बताउँदै नियमनका लागि कानूनी प्रबन्ध गरिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवमा मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले सञ्चारसम्बन्धी छाता ऐन ल्याउने र सञ्चार क्षेत्रलाई प्रोत्साहन दिन सरकार तत्पर रहेको पनि बताउनुभयो । विज्ञापन नीति र क्लिन फिड नीतिको कानून पारित भइसकेको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने सरकारको नीति नभई करको दायरामा ल्याउन खोजिएको स्पष्ट गर्नुभयो ।

उहाँले भन्नुभयो, “लोकतान्त्रिक आन्दोलनको सङ्घर्ष र अभ्यासकै जगबाट वर्तमान सरकार बनेको हो । यसले प्रेसमाथि नियन्त्रण गर्ने कुरा सोच्न सकिँदैन । सरकारका नीतिहरु पढेर मात्रै आलोचना गर्न म आग्रह गर्दछु । हामी नियन्त्रण होइन, नियमन गर्न चाहन्छौँ । ज्ञानेन्द्रको पृष्टभूमि र अहिले सरकार चलाइरहेको पार्टीको पृष्टभूमि, निष्ठा, लक्ष्य, उद्देश्य विल्कुल भिन्न हो । कसैले जनताको अधिकार खोस्यो, कसैले जनताको अधिकारका निम्ति सँगसँगै लडेर आएको छ । सधैँ यो कुरा किन उठाउनुहुन्छ ?”

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाललाई कुनै मुलुकसँग वैरभाव नगर्ने र सबैसँग मित्रभाव राख्ने विदेश नीतिको निरन्तरतासहित समृद्धिको यात्रामा अघि बढाउन सञ्चार क्षेत्रको पनि उत्तिकै सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकार स्पष्ट सोचका साथ आर्थिक सामाजिक रुपान्तरणको दिशामा अघि बढेको छ । यसमा हामी छिमेकी भारत र चीनको सहयोग लिँदै अन्तर्राष्ट्रिय समुदायको साथ पनि लिएर अघि बढ्ने छौँ ।”

गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले मुलुकमा समृद्धिका लागि उचित वातावरण मिलेका जनाउँदै विदेशीको मुख मात्र नताकी नेपालीहरु नै जागृत भएर आर्थिक विकासमा लाग्नुपर्ने बताउनुभयो ।