राजनीति

चारतारा र लालतारा मिलेर अंशबण्डा गर्नुपर्दैन : सञ्चारमन्त्री बाँस्कोटा



काभ्रे, २३ बेशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विकासमा सत्तापक्ष र प्रतिपक्षको साझेदारी रहनुपर्ने बताउँदै बिकासमा चारतारा र लालतारा मिलेर अंशबण्डा गर्नु नपर्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकस्थित गैरसरकारी संस्था महासङ्घ नेपालको १६ औं वार्षिक साधारणसभा तथा ८ औं जिल्ला अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले नेपालको सार्वभौमिकसत्ता खलबल्याउने गतिविधि हुन थालेकाले गैरसरकारी संस्थालाई नियमन गर्न लागिएको बताउनुभयो ।

केही गैससका गतिविधिले नेपालको सार्वभौममाथि खतरा पर्ने देखिएपछि नियमन गर्न लागिएको बताउँदै मन्त्री बाँस्कोटाले उहाँले भन्नुभयो, ‘बाह्य सहयोग स्वीकार्नु पर्छ तर नेपालको अखण्डता र सार्वभौमिकतामा आँच पुग्ने काम गर्न पाइँदैन । बाह्य सहयोग कति हार्डवेरमा, कति सफ्टवेयरमा लेखाजोखा हुनुपर्छ । हामी गैससलाई एउटै डालोमा पनि राख्दैनौं, छलफल गरौंला, नीति कानुन बनाउने बेलामा तपाईंहरूको सुझावको अपेक्षा गर्छौं ।’

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल पनि निमयन हुनुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्रमा छाडातन्त्र हावी हुन सक्ने खतरा बढेकाले सामाजिक सञ्जाल नियमन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले फरक प्रसङ्गमा ‘बालुवाटार प्रकरण सन्त नेताबाटै सुरू भएकाले’ प्रतिपक्षले यसका विषयमा ठूला भाषण गर्दा स्वयंलाई अप्ठ्यारो पर्ने जिकिर गर्नुभयो । सो अवसरमा मन्त्री बाँस्काटाले गैसस काभ्रेपलाञ्चोकका पूर्वअध्यक्ष कृष्णचन्द्र आचार्य र शङ्खबुद्ध लामालाई सम्मान गर्नुभएको थियो ।