समाचार

दुई पुरुषको शव फेला



बागलुङ, २४ वैशाख । बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई पुरुष व्यक्तिको शव फेला परेको छ ।

सोमबार बिहान घाँसदाउराका लागि जङ्गल पुगेका स्थानीयवासीले बडिगाड गाउँपालिका–८ नेटाको जङ्गलमा सडेको अवस्थामा तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको शव पूरै सडेको अवस्थामा भए पनि उनले लगाएको चप्पल र कपडाले पहिचान भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।चार महिनादेखि बेपत्ता घर्ती मानसिक समस्या रहेका थिए । उनको शव परीक्षणका लागि धवलागिरी अञ्चल अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

त्यस्तै, जिल्लाको जैमिनी नगरपालिका–८ को कालीगण्डकी नदीकिनारमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

शवको पहिचान हुनसकेको छैन । शव परीक्षणका लागि जिल्ला सदरमुकामस्थित धवलागिरी अञ्चल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।