राजनीति

शताब्दी पुरुष जोशीको नागरिक अभिनन्दन कार्यक्रममा सांसद सुवाल र प्रमुख प्रजापतिद्वारा बहिस्कार



भक्तपुर, ७ असार । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको एक सय वर्ष पुगेको अवसरमा भक्तपुरमा आयोजना गरिएको नागरिक अभिनन्दन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका नेता, प्रतिनिधिसभाका सांसद प्रेम सुवाल तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतीले बहिस्कार गरेका छन् ।

वाङमय शताब्दी पुरुष पदवीबाट बिभुषित महाविधावारिधिबाट सम्मानित व्यक्तित्व शताब्दीपुरुष सत्यमोहन जोशीको एक सय वर्ष पुगेको अवसरमा शुक्रबार भक्तपुरमा शताब्दीपुरुष सत्यमोहन जोशीको भब्य नागरिक अभिनन्दन कार्यक्रम नेमकिपाले बहिस्कार गरेको हो ।

कार्यक्रममा भक्तपुरका अधिकाशं उच्च पदका सरकारी तथा गैरसरकारी संस्थाहरुका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो भने नेमकिपाको तर्फबाट भने नेतृत्वमा रहेका कसैको पनि उपस्थिती रहेको थिएन ।

सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समिति भक्तपुरको संयोजनमा भएको अभिनन्दनअन्तर्गत नगर परिक्रमा गराइँदा भक्तपुर र मध्यपुर थिमीका नगरवासीले जोशीलाई नेवारी परम्पराअनुसार सगुन दिइएको थियो । कसैले फूलमाला र रातो टीका लगाइदिए भने कसैले खादा ओढाएर सम्मान व्यक्त गरिएको थियो ।

त्यस्तै स्थानीय बाजा खलःहरु आ-आफ्नो मौलिक एवं परम्परागत बाजागाजासहित र्‍यालीमा सहभागी भएका थिए । स्कुलका शिक्षक, विद्यार्थी तथा विभिन्न टीम, क्लव, संघसंस्थासमेत आआफ्नो ब्यानरसहित र्‍यालीमा सहभागी रहेको थियो ।

मध्यपुर थिमीको बहाखाबजार र भक्तपुरको दत्तात्रय क्षेत्रबाट छुट्टाछुट्टै सांस्कृतिक झाँकीसहितको सम्मान र्‍याली गरिएको हो । दुवै नगरमा गरिएको शोभायात्रामा उल्लेख जनसहभागिता रहेको थियो। भक्तपुरको दत्तात्रयबाट सुरु गरिएको र्‍याली गोल्मढी, सुकुलढोका, दरबार क्षेत्र, टौमढी क्षेत्र, गःहिटी, नासमना, वंशगोपाल हुँदै बाराहीस्थानमा नागरिक अभिनन्दन गरिएको थियो । भक्तपुरका संघीय सांसदहरु र प्रदेश सांसदहरु, जिल्ला समन्वय समिति तथा चार वटा नगरपालिकाका प्रमुखहरुले पुरातत्वविद् जोशीलाई नागरिक अभिनन्दन गर्नुभयो तर भक्तपुरमा नै आफ्नो राजनीतिक कर्म थलोको रुपमा रहेको नेमकिपाका जनप्रतिनिधिहरुको उपस्थिती भने देखिएन ।

सम्मान कार्यक्रममा संघीय सांसद महेश बस्नेत, प्रदेश सांसदहरु डा. राजेन्द्रमान श्रेष्ट, रजनी जोन्छे, जिसस भक्तपुरका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुवर, चागुँनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र, सूर्यविनायकका बासुदेव थापा, मध्यपुरथिमीका मदन सुन्दर श्रेष्ठलगायतले सम्मान गर्नुभएको थियो ।