Banner News

ओली नेतृत्वको सरकारले ५ बर्षसम्म काम गर्छ : मन्त्री पोखरेल



भक्तपुर, ९ असार । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले ओली नेतृत्वको सरकारले ५ बर्षसम्म काम गर्ने बताउनुभएको छ ।

सूर्यविनायक नगरपालिकाको पाँचौं नगरसभा तथा नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ सालको नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भन्नुभयो, ‘यो सरकार विधिसम्वत ढङ्गले बनेको छ, सरकार ढल्छ भन्ने हल्ला अस्थिरता सिर्जना गर्न फैलाइएको हो ।’ नेकपा नेतृत्वको वर्तमान सरकारले जनताको विश्वासको बलमा पाँच वर्षसम्म योग्यतापूर्वक काम गर्छ ।’

सरकारले गरेको राम्रो कामलाई समेत नकरात्मक ढंगले कुप्रचार गर्नु आम नेपाली जनताको विकास प्रतिको चाहनामाथि खेलवाड गर्ने घृणित प्रयास भएको बताउनुभयो । वर्तमान समय विकासमा एकतावद्ध हुने समय आएको बताउँदै कसैले कसैको खुट्टा तानेर देश परिवर्तन नहुने बताउँदै उहाँले जनताको तिव्र विकास प्रतिको चाहना पुरा गर्न वर्तमान निर्वाचित जनप्रतिनिधि आएको र आगामी दिनमा तीनै तहको सरकारले परिणाममूखी काम गर्नुपर्ने बताउनुभयो ।

वर्तमान सरकारले जनताको आवश्यकता अनुसार उद्योगहरु खोल्ने प्रकृयामा रहेको बताउँदै उहाँले नेपालको पानी जनताको लगानी भन्ने कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको बताउनुभयो । उहाँले नेपाल कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रको माध्यमबाट आर्थिक तथा सामाजिक रुपान्तरण गर्न विशेष भूमिका खेल्ने भएकाले देशको आर्थिक वृद्धिदरलाई बढाउने प्रकारका कार्यहरु गर्न स्थानीय तहलाई आग्रह समेत गर्नुभयो ।

समृद्ध नेपाल सुखी नेपाली नारामात्र नभई राष्ट्रिय आकांक्षा रहेको जसलाई पुरा गर्न कृषि, उद्योग, पर्यटन, उर्जा, पूर्वाधारको विकास गर्नु जरुरी रहेको बताउँदै उहाँले भू–उपयोगको नीतिलाई व्यवस्थित रुपमा कार्यान्यवन गर्दै अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्नुपर्ने जोड दिनुभयो ।

कृषिमा व्यवसायीकरण तथा आधुनीकिकरण गर्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले देशमा कुनै पनि वस्तु वा पदार्थ आयातभन्दा निर्यातमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आफ्नो ठाउँमा आफ्नै उत्पादन गर्छौं भन्ने भावनाका साथ काम गर्नुपर्ने बताउँदै विदेशी बस्तुभन्दा आफ्नै देशको उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

आगामी दिनमा ७० प्रतिशत प्राविधिक तथा व्यवहारिक शिक्षा र बाँकी ३० प्रतिशत सैद्धान्तिक रहने जानकारी गराउँदै उहाँले शिक्षा उत्पादन तथा रोजगारीसँग जोडिनुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारले कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापीकाको काम गर्ने आफ्नै प्रकारको अधिकार रहेको जसका कारण कतिपय कुरा तथा मुद्धाहरुको फैसला समेत गर्ने अधिकार संविधानले प्रदान गरेको बताउँदै उहाँले संविधानत संघियताको कार्यान्यवनसँगै आगामी दिनमा केन्द्रीय सरकारको मुख ताक्नु नै पर्ने दिनको समाप्त भएको समेत बताउनुभयो ।

रक्षा मन्त्री पोखरेलले विकास गर्ने क्रममा यो पार्टी र त्यो पार्टी नभनी सबै एक जुट हुनुपर्ने भन्दै निर्वाचनमा पराजित भएकालाई समेत समेटेर लानु पर्ने बताउँदै उहाँले भन्नुभयो, ‘दलिय द्धन्द्धको धङधङीबाट लिप्त भएकाहरुले मात्र विकासको विरोध गर्दछन् ।’

कार्यक्रममा सांसद महेश बस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, मध्यपुरथिमीकी उपप्रमुख अन्जनादेवी मधिकर्मी, नेकपाका जिल्ला अध्यक्ष बचन देउजा, काँग्रेस भक्तपुरका सचिव निशान ढुंगेल लगायतले भक्तपुरको नीति तथा कार्यक्रमले जनताको आश्यकतालाई सम्बोधन गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

नगरपालिकाको नीति तथा कार्यक्रम पेश गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले कृषि, पर्यटन, धर्म संस्कृति, शिक्षा, युवा तथा खेलकुदलगायतका कुरालाई विषेश महत्व दिएको बताउनुभयो ।