राजनीति

आयोगबाट बिदाई भएपछि होटलमा अन्तर्वाता : विद्यार्थी भन्छन्-हाजिर कसरी गर्ने, नेकपा नेता भन्छन्-आपत्तिजनक



मोरङ, ४ भदौ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष बद्रीनाथ श्रेष्ठले विश्वविद्यालयबाट बिदाई भएपछि प्राध्यापक र सहप्राध्यापक नियुक्तिका लागि परीक्षा होटलमा बसेर अन्तरवार्ता लिएको पाइएको छ ।

श्रेष्ठको ४ वर्षे कार्यकाल भदौं ५ गते सकिँदैछ । विश्वविद्यालयबाट बिदाई भएपछि काठमाडौं पुगेका श्रेष्ठले कार्यकाल सकिँन तीनदिन बाँकी रहेको अवस्थामा सोमबार प्राध्यापक र सहप्राध्यापक नियुक्तिका लागि होटलमा परीक्षा सञ्चालन गरेका हुन् । विश्वविद्यालय सेवा आयोगले खुलाएको विज्ञापनमा प्राध्यापकतर्फ प्राडा जीवन ढकाल र सहप्राध्यापकतर्फ शैलेन्द्र शिवाकोटीको नाम अन्तर्वार्ताका लागि छनोट भएको थियो । सोमबार दुईजनालाई काठमाडौंको होटल एम्बेस्टरमा अन्तर्वार्ता लिइएको हो । पूर्वाञ्चल विश्वविद्यालय स्रोतका अनुसार अन्तर्वार्ता भएपनि विश्वविद्यालयलार्इ जानकारी गराइएको छैन् । सेवा आयोगको सिफारिस पूवि कार्यकारी परिषदले सदर गरेमात्र प्राध्यापक र सहप्राध्यापकले हाजिरी गर्न पाउनेछन् ।

विश्वविद्यालयले २०७४ साल चैत ९ गते १ जना प्राध्यापक, तीन विषयगत सहप्राध्यापक र पाँच उपप्राध्यापकसहित विभिन्न पदकालागि विज्ञापन आह्वान गरेको थियो । तर विद्यार्थी नभएको विषयमा पनि विज्ञापन गरिएपछि विवाद सुरू भएको थियो । विवादकै क्रममा व्यवस्थापनतर्फको प्राध्यापकमा जीवन ढकाल र व्यवस्थापन तर्फको सहप्राध्यापकमा शैलेन्द्र शिवाकोटीको नाम मात्र अन्तर्वार्ताका लागि छनोट भएको थियो ।

परीक्षाका लागि लाजिम्पाटस्थित होटल एम्बेस्टर पुगेका शिवाकोटी र ढकाल सोमबार नै विराटनगर फर्किएका थिए । विश्वविद्यालय सेवा आयोगका सदस्य महेन्द्र यादवका अनुसार अन्तर्वार्तामा विज्ञको रूपमा प्राडा कमल ढकाल, प्राडा पृथ्वीविक्रम राई र प्राडा पुस्कर बज्राचार्यलाई बोलाइएको थियो । अन्तर्वार्तालाई गोप्य राख्न होटल पनि सेवा आयोग अध्यक्ष श्रेष्ठको नाममा बुक गरिएको होटल स्रोतले जानकारी दिएको छ ।

छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै चार विद्यार्थी संगठनले विश्वविद्यालय सेवा आयोगको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । पटक–पटक अन्तर्वार्ताको समय तोकिएपनि विद्यार्थी संगठनहरूको अवरोधका कारण आयोगले अन्तर्वार्ता गरेको थिएन । तर, आयोगका अध्यक्ष श्रेष्ठले विश्वविद्यालयबाट औपचारिक रूपमा बिदाई हुन तीन दिनअघि सोमबार होटलमा अन्तर्वार्ता लिएका हुन् । साउन अन्तिम साता उहाँ विश्वविद्यालयबाट विदा हुनुभएको थियो ।

विद्यार्थी संगठनहरूले होटलमा गरिएको अन्तर्वार्ताका आधारमा नियुक्ति पाएका प्राध्यापक र सहप्राध्यापकलाई विश्वविद्यालयमा हाजिरी गर्न नदिने चेतावनी दिएका छन् । सेवा आयोगमा तालाबन्दी भएकको अवस्थामा बिना सूचना होटलमा गरिएको अन्तर्वार्ताका आधारमा नियुक्ति पाएका प्राध्यापक र सहप्राध्यापकलाई हाजिरी गर्न नदिने विद्यार्थी नेता वसिम आलमले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता महेश रेग्मी होटलमा अन्तर्वार्ता गरिनु आपत्तिजनक भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘विश्वविद्यालयको केन्द्रीय कार्यालय यहाँ ९विराटनगर० मा छ । लोकसेवा आयोग वा सम्पर्क कार्यालयमा गरेको भए ठिकै हो तर होटलमा अन्तर्वार्ता लिनु आपत्तिजनक छ ।’ विश्वविद्यालयबाट बिदा भइसकेका व्यक्तिले नियुक्तिकालागि अन्तर्वार्ता लिनु विधि र प्रक्रियाविपरीत भएको बताउनुहुन्छ ।

पूर्वाञ्चल विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक बोधहरि आचार्य होटलमा अन्तर्वार्ता लिनु गैरजिम्मेवारीपन भएको बताउनुभयो । केन्द्रीय कार्यालय सेवा आयोगमा तालाबन्दी भएको अवस्थामा होटलमा अन्तर्वार्ता लिनु गलत भएको उहाँको भनाइ छ । होटलमा अन्तर्वार्ता लिएको विषयमा कानूनी उपचार खोज्ने उहाँले बताउनुभयो ।