राजनीति

नागरिकलाई यो पुगेन, त्यो पुगेन भनेर अल्झाउने हैन, छरितो सेवा दिनुहोस् : अध्यक्ष तिमिल्सिना



पश्चिम नवलपरासी, १० भदौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुनै पनि प्रशासनिक कार्यमा जनप्रतिनिधिले जनताको काममा यो पुगेन, त्यो पुगेन भनेर अल्झाउन नभई सेवा प्रवाहमा छिटो र छरितो हुनुपर्नेमा जोड दिनुभएको छ ।

पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिकाले आज परासीमा गरेको स्वागत कार्यक्रममा सो कुरामा जोड दिँदै उहाँले नागरिकलाई झण्झटमुक्त सेवाप्रवाह गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई यो पुगेन, त्यो पुगेन भनेर अल्झाउने होइन, जसरी हुन्छ छिटो सेवा दिने हो, गणतन्त्रमा पनि प्रशासनिक वा राजनीतिक रुपले झण्झटमा पार्ने काम जनप्रतिनिधिबाट हुनुहुँदैन, यस्तो गतिविधिले देश बन्न सक्दैन ।”

भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको विकासमा नेपाल सरकारबाट नियमित बजेट विनियोजन हुने व्यवस्था मिलाइएको जानकारी दिँदै अध्यक्ष तिमिल्सिनाले लुम्बिनी विकास कोषमा आउने बजेट पनि रामग्राममा ल्याउन स्थानीय जनप्रतिनिधिले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।