राजनीति

युवा संघको चेतावनी : प्रम ओलीले विश्राम लिने हैन, सांसद थापा तथा कांग्रेसले विश्राम लिनुपर्छ



काठमाडौँ, १९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले नभई प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस तथा कांग्रेसका सांसद गगन कुमार थापाले राजनीतिक रुपमा विश्राम लिन चुनौति दिएको छ ।

प्रतिनिधिसभाको बैठकमा पूर्वस्वास्थ्य मन्त्री समेत रहेका सांसद थापाले प्रधानमन्त्री ओलीले विश्राम लिई अभिभावकत्व ग्रहण गर्दै सम्मानका साथ बस्नुपर्ने बताएकोमा कडा रुपमा प्रतिवाद गर्दै संघको वरिष्ठ नेता किरण पौडेलले उक्त चुनौति दिनुभएको हो । उहाँले अबको दुई दशक कांग्रेसले विश्रम लिनुपर्ने समेत उल्लेख गर्नुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उक्त चुनौति दिनुभएको हो । उहाँले लेख्नभएको छ, ‘गगनजी !! केपी ओलि जत्तिको सकृय जिबन तिमीहरुको न त आजसम्म रह्यो न भोली हुनेछ,आरामको जरुरत केपी ओलि लाई हैन गगन थापा र अन्य कांग्रेसी नेताहरुलाई छ कम्तीमा दुई दशक लामो ढुक्क आराम ।’