विचार/ब्लग

कोरोना कहरः वडाअध्यक्षको कृषि मन्त्रीलाई खूल्ला पत्र



मन्त्रीज्यू नमस्कार,

हाम्रो देश मात्रै होइन, सिगो विश्व नै कोरोना भाइरस (कोभिड–१९) विरुद्ध संघर्ष गरिरहेको छ । चैत्र–वेैशाखको चर्को घाममा वनमा डढेलो सल्किए झै यसले संसारभर आफ्नो प्रभाव बढाइरहेको छ । यो रोगको औषधी घरभित्रै बस्नु बाहेक अर्को विकल्प नभएका कारण सिगो देशविदेशका जनताहरु आफ्नै घरमा बन्दक बन्न वाध्य भएका छन् ।

हाम्रो देश पनि भण्डै एक महिनायतादेखि लकडाउनमा छ । ज्याला–मजदुरी गरी खाने अति विपन्न परिवार भोक–भोकै बस्नु पर्ने अवस्था उत्पन भएको छ । यो अझै कति लम्बिन्छ, हामी कसैलाई थाह छैन् । देश प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कोरना विरुद्धको अभियानमा होमिएको छ ।

मन्त्रीज्यू,

हाम्रो देश कृषि प्रधान देश हो भन्ने कुरा हामीले पढ्दै आएका छौं । आयआर्जनको मूख्य पेशा हाम्रो कृषि भएपनि अपेक्षाकृतरुपमा कृषिमा सूधार गर्न नसकेको कुरा घाम जतिकै छर्लङ छ । कृषि क्षेत्रलाई व्यापकमात्रामा सूधार गर्दै देशलाई खाद्यान्नमा आत्मानिर्भर बनाउने जिम्मेवारी र दायित्व पनि सरकारकै हो । नाकाबन्दी खेपेका हामीे अहिले कोरनाको महामारीसँग जुधिरहेकाछौं । अब तपाईले कृषि क्षेत्रले फड्को मार्ने गरी नीति नियम बनाउने र त्यसलाई कार्यान्वयन गर्ने काममा ढिलाई गर्नु हुँदैन् ।

हो, तपाई मन्त्री भएर सस्तो प्रचारवाजीमा रमाएको पनि पाइएको छैन् । सुनिएको छ –मन्त्रालयमा बसेर भित्र–भित्रै तपाईले कृषिक्षेत्रमा सूधार गर्ने नीति नियम बनाउनु भएको छ रे । सरकारले अहिले सम्म कृषि क्षेत्रमा सूधार गर्न राम्रै लगानी गर्दै आएको छ । तर, सरकारले गर्दै आएको सो लगानी वालुवामा पानी सरह भएको छ । यस अघि पनि कृषिक्षेत्रलाई सूधार गर्नका लागि आएका स्वदेशी वा विदेशी प्रेजेक्टहरुले वास्तविक किसानको अनुहार नै देख्न पाएनन् । त्यस्ता प्रोजेक्टका लगानीहरु तराईका जिल्लाहरुमा माछा खेती र पहाडका जिल्लाहरुमा बाख्रा खेतीका नाममा झ्वाम भए । आशा गछौं, तपाईका पालामा कागजमा माछा र वाख्राको खेती गरेर सरकारी वा विदेशी लगानीको दुरुप्रयोग नहोस् । कृषिक्षेत्रमा यस अघि संस्थागतरुपमा नै हुँदै आएका वेथिति, अनियमितता र भ्रष्टाचार रोकियोस् । तपाईले यस्ता वेथितिहरुलाई आफ्नो मन्त्रालयमा रोक्ने आँट र योजना मात्रै बनाउनु भयो भने पनि ५० प्रतिशत सूधार आफै हुन्छ । तर, अहिले सम्म देख्ने र सुन्नेगरी मन्त्रालय भित्रका वेथितिलाई हटाउने योजना बनाएको वाहिर आएको छैन् । अनियमितता र वेथितिसंग जोडिएका जो कोहीमाथि कारवाहीको प्रक्रिया अघि भने बढाउनु भएको छ जस्तो लाग्दैन ।

मन्त्रीज्यू,

कोरनाका कारण सयम फेरिएको छ । हिजो हाम्रा देशका गाउँ घर रित्ता र खाली थिए, आज भरिने भएको छ । रोजगारीका लागि लर्को लागेर गाउँघर छोडेका युवाहरुका ताँतीहरु आफ्नो थातथलो फर्किदैछन् । उनीहरुलाई गाउँमै रोजगारीको अवसर सिर्जना गर्ने जिम्मेवारी पनि सरकारकै हो । गाउँमा युवाहरुलाई रोजगारीको अवसर जुटाउने क्षेत्र कृषि र पर्यटन नै हो ।

कृषि क्षेत्रलाई व्यापक मात्रामा सूधार गर्दै उनीहरुलाई गाउँमै रोजगारीको वातावरण निर्माण गर्ने जिम्मेवारी पनि तपाईकै हो । कृषिक्षेत्रमा युवाहरुलाई लगाउन पेरित गर्न नयाँ–नयाँ योजनाका प्याकेजहरु सरकारले ल्याउनुपर्छ । किसानहरुलाई सहुलित दरमा ऋण प्रवाह गर्दा हिजोका जस्ता झन्झटिला बाटोहरु बन्द गर्नुपर्छ । गाउँ फर्किएका युवाहरुलाई रोजगारीको बन्दोबस्ती गाउँमा नै मिलाउन सकिएन भने त्यसले सरकारलाई अर्को थप संकट जन्माईदिन्छ । किसानहरुले बैंकमा गएर ऋण माग्दा उल्टै उक्त वितिय संस्थाका अघिकारीहरुले कमिसन माग्ने परिपाटीको अन्त्य हुनुपर्छ ।

कोरनाका कारण हाम्रो देशको मात्रै होइन, विश्वको नै अर्थतन्त्र ओरालो लाग्नेवाला छ । देशमा ओरालो लागेको अर्थत्रन्त्रलाई माथि उठाउन कृषिक्षेत्रलाई सरकारले चमत्कारितढंगबाट माथि उठाउन अब ढिलाई गर्नुहुँदैन् । हाम्रो देशभर वाँझो रहेका खेतिवारीहरुलाई कसरी हरियालीमा रुपान्तरित गर्ने हो भनेर सोच्ने काम पनि सरकारकै हो । वाँझो खेतीहरुलाई मात्रै हामीले हरियालीमा रुपान्तरित गर्न सकेमा एकातिर देश खाद्यन्नमा आत्मानिर्भर हुन्छ अर्कोतिर गाउँ फर्किएका युवाहरुलाई रोजगारीको अवसर गाउँमै सृजना हुन्छ ।

पक्कै पनि यी काम गर्न सहज र सरल भने छैन् । तर, भनिन्छ नी आँट ग¥यो भने असम्भव केही हुँदैन् । तपाईको स्वभाव र क्षमतासँग थोरै भएपनि परिचित भएको मान्छे हुँ म । ओहोरात तपाई वेथिति र अनियमिताले भरिएको मन्त्रालयका कोठाहरु सफा गरिरहनु भएको छ । गाउँ फर्किएका युवाहरुको रोजगारीको पहिलो क्षेत्र कृषि नै हो ।

यो संकटको बेला मन्त्रालयमा सूधारको गति तीव्र पार्न गाह्रो छ । हिजो देखि नै मन्त्रालयमा संस्थागतरुप थुप्रिएको वेथितिको जालो चिर्न सजिलो भने छैन् । त्यसमा पनि सूधारको कूचो लगाउन थाल्नु भयो भने, त्यसलाई असफल पार्न सल्वलाउने तत्वहरुको जमात हामी कहाँ कमि छैन् । हुन त हरेक संकटसँगै अवसर पनि आएको हुन्छ भन्छन, त्यो मैले मन्त्रीज्यू,लाई भनिरहनु पर्दैन् । अन्तमा तपाईले पनि अरु कृषि मन्त्रीहरुले झै निरन्तरता मात्रै दिने होकि ?अरु भन्दा फरक भएर निस्कने हो त्यो भने हेर्न बाँकी छ ।

उपेन्द्र केसी
सूर्यविनायक नपा–९ अध्यक्ष एंव प्रवक्ता