राजनीति

मन्त्री संस्कृति : सधैं गैरजिम्मेवार अभिव्यक्ति



काठमाडौँ, १५ फागुन । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री सुदन किराती कहिले आफ्नै कार्यकक्षमा पोछा लगाएको तस्बिर सार्वजनिक गरेर भारइल हुन्छन्, कहिले जथाभावी बोलेर विवादमा आउँछन् । पछिल्लो समय उनी आपत्तिजनक अभिव्यक्तिका कारण विवादमा छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले मन्त्री किरातीको आलोचना गरे । खतिवडाले लुम्बिनी क्षेत्र विकास कोष जस्तो पवित्र थलोमा ‘बैंकको लकरमा गोली लुकाउने ल्हारक्याल लामाको नियुक्ति’ लाई जोड्दै मन्त्री किरातीको इमानमाथि प्रश्न उठाएका थिए । त्यस्तै आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद खतिवडाले पर्यटनमन्त्री किरातीलाई नेपाल वायुसेवा निगमले खरिद गर्न लागेका तीन साना जहाजको १८ करोड कमिसनसँग पनि जोडेका थिए । यो भिडियो सोसल मिडियामा भाइरल थियो ।

उनको भिडियो क्लिपसँगै मन्त्री किरातीको काउन्टर जवाफ पनि सामाजिक सञ्जालमा भाइरल भयो । सोमबार बिहान एक अनलाइनको युट्युब च्यानलमा मन्त्री किरातीले ७ वर्षअघि लाजिम्पाटस्थित पाँचतारे होटल र्‍याडिसनको फिटनेस क्लबबाट एक व्यवसायीको हराएको रोलेक्स घडीको घटनासँग जोड्दै खतिवडालाई ‘कायर र लाछी’ भने । पर्यटनमन्त्री किरातीले बैंकको लकरमा गोली राखेको विवादमा मुछिएका लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाको तारिफ गर्दै भिडियो क्लिपमा भनेका छन्, ‘बहादुरले गोली लुकाउँछ । कायर र लाछीले चैं घडी लुकाउँछ । ती घडी लुकाउने मान्छे आज बोलेछन् । तीप्रति मेरो दया जागेर आएछ ।’ बैंकको लकरमा बन्दुक राख्ने कृत्य आपराधिक हो, तर त्यसलाई पनि बहादुरीका रूपमा व्याख्या गर्ने व्यक्ति अरू कोही नभएर देशका संस्कृतिमन्त्री हुन् ।

मन्त्रीको यो भनाइपछि सोमबार संसद्मा फेरि किरातीको राजीनामा माग्दै एमाले सांसद गोकुल बाँस्कोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारको आलोचना गरे, सभामुखको ध्यानाकर्षण गराए । ‘विवादित मन्त्रीबारे प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ । कि उनीहरूले राजीनामा दिनुपर्छ । कि बर्खास्त गर्ने आँट गर्नुपर्‍यो,’ प्रतिपक्षीले केहीबेर संसद् अवरुद्ध गर्नुअघि एमाले सांसद बाँस्कोटाले भने ।

उनीपछि संसद्मा बोलेका रास्वपा अध्यक्ष लामिछानेले सरकारका मन्त्रीबारे संसद्मा गम्भीर आरोप लागेपछि उनीहरू मिडियामा गएर ओठे जवाफ दिनु अलोकतान्त्रिक भएको टिप्पणी गरे । ‘मन्त्रीहरूलाई गम्भीर विषयमा जवाफ दिन केले रोकेको छ ?,’ लामिछानेले भने, ‘यदि निराधार आरोप हुन् भने संसद्मा भन्न मन्त्रीहरूलाई केले रोकेको छ ? मिडियामा गएर ओठे जवाफ फर्काउने ?’

आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद खतिवडाले पर्यटनमन्त्री किरातीलाई नेपाल वायुसेवा निगमले खरिद गर्न लागेका तीन साना जहाजको १८ करोड कमिसनसँग पनि जोडेका थिए । संसद्को राज्यव्यवस्था समितिका सभापतिसमेत रहेका सांसद खतिवडाले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त ल्हारक्यालको विषयमा प्रश्न उठाउँदै भनेका थिए, ‘यसरी मुलुक कहाँ जाने हो ? सस्तो लोकप्रियताका लागि आफ्नो मन्त्रालयको कार्यकक्ष सफा गर्न टीभी लिएर पुगेर भिडियो हालिदिएपछि सबैभन्दा क्रान्तिकारी र राम्रो मन्त्री हुने हो भने मुलुक कसरी विकास हुन्छ ?’ उनले अगाडि भनेका थिए, ‘सरकारले सुशासनका नाममा ल्हारक्याल लामा जस्ता मानिसलाई नियुक्ति गरेको छ । लुम्बिनी विकास कोषमा शान्तिका दूत गौतम बुद्धको ठाउँमा लकरमा गोली राख्ने मानिसलाई नियुक्त गरेपछि देशको हालत के होला सभामुख महोदय, सरकारको ध्यान आकर्षित होस् ?’

मन्त्री किराती अभिव्यक्तिका कारण विवादमा तानिएको यो पहिलो घटना होइन । यसअघि जेठमा भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल र समकक्षी नरेन्द्र मोदीबीच भएको भेटपछि मन्त्री किरातीले दिएको अभिव्यक्ति पनि विवादमा तानिएको थियो । ‘दुई देशबीच उपलब्धिजनक सम्झौता नहुने भएकै कारण आफू भारत भ्रमणमा नगएको’ भनेपछि उनको कुर्सी नै धरापमा परेको थियो । ‘प्रधानमन्त्रीले किरातीलाई झन्डै बर्खास्त गरिसकेका थिए,’ एक मन्त्रीले भने, ‘तर, एउटा ठूलो समूहले उक्त निर्णयले प्रधानमन्त्री र माओवादी केन्द्रलाई असर पार्ने बताएपछि प्रधानमन्त्री उक्त निर्णयबाट पछि हटेका थिए ।’

पूर्वपर्यटनमन्त्री तथा एमाले सांसद योगेश भट्टराईले माओवादी सांसद तथा मन्त्रीहरूलाई व्यंग्य गर्दै भनेका थिए, ‘केपी प्रधानमन्त्री भएको मन्त्रिपरिषद्का कुनै सदस्यले त्यस्तो अभिव्यक्ति दिएको भए १ सेकेन्ड पनि कुर्सीमा बस्न पाउँदैनथे । तपाईंहरूका अध्यक्ष भने लचिला रहेछन् । किरातीलाई सम्झाउनुहोस् है ।’

मन्त्री किराती धर्मबारे अभिव्यक्ति दिँदा पनि विवादमा तानिए । दुई महिनाअघि एउटा धार्मिक समूहको कार्यक्रममा मन्त्री किरातीले इसाई धर्म र संविधानबारे चर्चा गर्दै नेपालमा ‘क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेल हाल्ने हो,’ भनेका थिए । उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जाल र सडकमा उनको विरोध भएको थियो ।

यो विवाद साम्य नहुँदै माओवादी केन्द्रको राजधानीमा आयोजित विधान अधिवेशनमा पनि उनी पार्टीभित्रैबाट आलोचित भएका थिए । एक केन्द्रीय सदस्यका अनुसार, कार्यकर्ताहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माओवादीका तर्फबाट हुने तर त्यस मन्त्रालयले नियुक्त गर्ने व्यक्तिहरू भन आर्थिक स्वार्थका कारण मात्र नियुक्त हुने गरेको भन्दै आलोचना गरेका थिए ।

मन्त्री किरातीले एक टेलिभिजन अन्तर्वार्तामा आफूलाई केही करोड रुपैयाँ घूस अफर आएको दाबी पनि गरेका थिए । तर, कसले कहाँ के नियुक्तिमा घूस अफर गरेको हो, सार्वजनिक गरेनन् । ‘क्याबिनेटमा पनि किरातीले करोड घूस अफरबारे बोलेका थिए । पुष्टि हुने विषय नभएको र त्यो विषय रेकर्डमा रहने भएकाले पछि फिर्ता लिन लगाइएको थियो,’ एक मन्त्रीले भने ।

किराती धेरैजसो सार्वजनिक कार्यक्रममा आम मानिसहरूलाई सरसफाइ तथा मुस्कानसहितको अतिथि सत्कार भाषण दोहोर्‍याइरहन्छन् । ०७९ माघ ४ गते ४० औं पर्यटनमन्त्री भई उनी मन्त्रालय छिरेकै दिन मातहतका सबै कार्यालयका शौचालय अनिवार्य र नियमित सफाइ गर्न निर्देशन दिए । सार्वजनिक सम्पदा सफाइ अभियान चलाए । तर, सोमबार उनले प्रतिनिधिसभामा आफूमाथि उठेको संसदीय प्रश्नमाथि असंसदीय शैलीमा जवाफ फर्काएका छन् ।

सांसद खतिवडाले मन्त्री किरातीसँग व्यक्तिगत मनमुटाब नभएको आफूले प्रमाणका आधारमा प्रणालीको विरोध गरेको बताउँदै भने, ‘फोहोरमा ढुंगा हानेजस्तो भयो, उनको भनाइमा मलाई दया जागेको छ ।’ तर मन्त्री किरातीले सांसद खतिवडाले बिना आधार आरोप लगाएको बताए । ‘लोकतन्त्रमा एउटा संस्थाले गल्ती गर्दा अर्को संस्थाले सच्याउँछ । लेखा समितिले सच्याउनु भनेपछि त्यो कुरालाई पालना गर्दै खारेज भइसकेपछि पनि यो कुरा संसद्मा उठाइराख्नुपर्ने म त्यति जरुरी देख्दिनँ,’ उनले भने ।

कांग्रेस सांसद रामहरि खतिवडाले आइतबार संसद्मा उठाएको विषय सत्य हो ?

गरिमामय संसद्भित्र उपस्थित भएर बोलिसकेपछि प्रमाणित कुरा बोल्नुपर्छ क्या । अप्रमाणित कुरा, बजारको हल्लाको कुरा बोल्नु भनेको त्यो गरिमामय पदलाई नधान्नु हो । त्यो गरिमामय संसद्को उपहास हुनु र आफू संसद्को सदस्य भएको अर्थै नबुझ्ने प्रमाणित हुन्छ । मन्त्री ठूलो, संसद् सानो भन्ने हुँदैन । संसद्मा जोसुकै सांसद भनेको प्रधानमन्त्रीको क्यान्डिडेट हो नि । त्यसकारण सांसदले प्रमाणित कुरा पो बोल्नुपर्छ ।

बहादुरले गोली लुकाउँछ, कायर र लाछीले घडीभन्नुभयो, संस्कृतिमन्त्रीले यस्तो भन्नुहुन्थ्यो ? यो त शोभनीय भएन नि ?

उहाँले लुम्बिनीको रामग्रामको कुरामा ल्हारक्याल लामासँग मलाई जोड्नुपर्ने कारण के छ ? लुम्बिनी मेरो मन्त्रालयअन्तर्गत त हो । मन्त्रीको तहबाट होइन, लुम्बिनी विकास कोषको अध्यक्षका हैसियतले बैठकमा बसेको हुँ । मेरो उपस्थितिमा भएको निर्णयमा नेपाल सरकारको सहमतिबेगर अन्य कुनै पनि प्रकृतिको सम्झौता गर्न पाइँदैन भनिएको छ । फेरि सम्झौता नै गरिएको छैन । साधारण एमओयू मात्रै गरेको हो । सम्झौता गर्नका लागि त विकास कोषको निर्णयअनुसार मन्त्रालय र सम्बन्धित निकायमै ल्याउनुपर्छ । त्यो तहसम्म ल्याइएको छैन । राज्यलाई बेइमान गर्न खोजेर, ढाँटेर नि हुँदैन । एक दिन त देखिन्छ नै । लोकतन्त्रमा एउटा संस्थाले गल्ती गर्दा अर्को संस्थाले सच्याउँछ । लेखा समितिले सच्याउनु भनेपछि त्यो कुरालाई पालना गर्दै खारेज भइसकेपछि पनि यो कुरा संसद्मा उठाइराख्नुपर्ने म त्यति जरुरी देख्दिनँ । अर्को कुरा, उहाँ आफैं राज्य व्यवस्था तथा राज्य व्यवस्था समितिको सभापति । हामीलाई बैठकमा बोलाएर डन्डा हाने भैगो नि । बेकारमा अप्रमाणित कुरा गरेर अर्काको मानमर्दन बदनाम गर्न पाइएन नि ?

जहाज खरिदमा १८ करोड कमिसन खान लाग्नु भा हो ?

एकातिर ट्विनअटरको ३००–डी सिरिज जहाज उत्पादन नै भएको छैन भन्ने अर्कोतिर १८ करोड खाँदै छ भन्ने । खाँदै गरेको प्रमाण उहाँसँग भए पेस गर्दा भइहाल्छ नि । उहाँको मन लोभी छ । मेरो मन लोभी छैन । यसरी नै कुरा गर्दा क–कसको के–के छ, त्यतातिर नजानु नै राम्रो । तर साथीहरू बाध्य बनाउँछन् । त्यो भिडियोमा मैले यो पनि भनेको छु कि, बारुदको पहाडमाथि उभिएर किन आगो खेलाउनु क्या π नैतिक रूपमा पतित मान्छेले अर्काको नैतिकतामाथि प्रश्न उठाउने हैसियत पनि राख्दैनन् ।

र्‍याडिसन होटलको लकरमा उहाँको साथीले राखेको रोलेक्स घडी हराएपछि प्रहरीलाई रिपोर्ट गरेर सीसीटीभी क्यामरा हेर्दाखेरि हिजो बोल्ने माननीय देखिएपछि पुलिसले फोन गर्दाखेरि रोल्याक्स घडी ओखलढुंगामा पुगिसकेको थियो । यस्तो फोहोरमा उभिएर अहिलेको पुस्ताले बिर्सिसकेको कुरा निकाल्न लगाउँछन् क्या π पुलिसले फोन गर्दा म ओखलढुंगामा छु । तर मेरो गोजीमा आएको छ भने । त्यो लोभी मनले भ्रष्टाचार देख्छ । पैसा देख्छ । मसँग त्यो सरोकार छैन । मलाई राष्ट्रिय आवश्यकता पूरा गर्न यहाँ जहाज किन्नु छ । हामी लागेका छौं । मेरो लोभी मन छैन ।

नैतिकताकै कुरा गर्दा बलबहादुर राई मन्त्री हुँदा उहाँले मन्त्रीको हस्ताक्षर किर्ते गर्नुभयो । प्रहरीले उहाँलाई केरकार गर्‍यो । ठिङुर्‍यायो । थुन्यो । उहाँको नैतिकता त्यस्तो छ । अर्काको नैतिकतामाथि किन प्रश्न उठाउनुपर्‍यो ।

निगममा ६२ जना कार्यकर्ता भर्ना गर्नुभएछ नि ?

उहाँले गन्नुभएको होला । नाम सार्वजनिक गरे भैगो नि । कतिचोटि उहाँ मेरो कार्यकक्षमा आएर आफ्नो मान्छे लगाइमाग्नुभयो । आफ्नो मान्छे लगाउँदा लाको नहुने ?

उहाँले भनेका कति जना निगममा जागिरमा छन् ?

उहाँले पटकपटक भन्नुभएको हो । मैले लगाइन हुँला । यस्तै भयो होला । लगाउने ठाउँ पनि हुनुपर्‍यो ।

ल्हारक्याल लामालाई लुम्बिनीमा उपाध्यक्ष नियुक्ति दिएबापत ईभी गाडी उपहार लिनुभएको हो ?

बेकारको कुरा । नचाहिने कुरा । प्रमाणित गरे भैगो नि त । मेरो केन्द्रीय समितिको सदस्यलाई माग्ने नै भए ईभी गाडी माग्थें हुँला ? पत्याउने कुरा गर्नुपर्छ ।

इजरायलमा निगमको न्यारोबडी महिनौंदेखि किन रोकियो नि ?

यी प्राविधिक कुरा मलाई थाहा छैन । म एक–दुई दिनमा बोलाएर सोध्छु । प्राविधिक कुरा मलाई व्याख्या गर्न आउँदैन ।

निगमले खरिद गर्न खोजेका तीन साना जहाज उपलब्ध गराउने कम्पनीको प्राविधिक मूल्यांकनबाट फेल भए । निगमका कार्यकारी अध्यक्षले लटरपटर गरेर टार्न खोजेको हो ?

त्यो रामजाने । मैले यो देशको आवश्यकता अनुसार जहाज चाहियो भनेको छु । त्यो कुरा मैले तपाईंको पत्रिका हेरेर थाहा पाएँ । मलाई परिणाम चाहिन्छ । म बजारको हल्लामा लाग्दिनँ । मलाई राज्यले पत्याएर मन्त्री बनाएको छ । नेपालमा धेरै हल्ला हुन्छन् । आज कालीकोटमा विमानस्थल उद्घाटनमा हजारौं जनता जहाज हेर्न उर्लेर आएका थिए । म ती जनता देखेर आँसु झारेर काठमाडौं फर्किएको छु । कान्तिपुरबाट