राजनीति

बामदेब कमरेड भक्तपुर आउनुस्, म छोड्न तयार छु : सांसद बस्नेत



काठमाडौँ, २० वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश वस्नेतले पार्टी एकतालाई जोगाई राख्न तथा समृद्ध नेपाल निर्माणको लागि उपाध्यक्ष बामदेब गौतमले भक्तपुरबाट चुनाव लड्न चाहनुभए तथा भक्तपुरका जनताले बामदेबलाई स्वीकारेमा आफुले राजिनामा दिएर बाटो खुल्ला गरिदिने उद्घोष गर्नुभएको छ । अघिल्लो पुस्तालाई सम्मान गरेर मात्र अघि बढ्न सक्ने उल्लेख गर्दै उहाँले यो वा त्यो बहानामा नेतृत्वले कुनै पनि समस्या उत्पन्न गर्नु नहुने उहाँले स्पष्ट पार्नुभयो ।

दक्षिण एसियाको ठूलो पार्टीको रुपमा स्थापीत नेपालको कम्युनिष्ट आन्दोलनलाई बचाउन तथा समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन नेकपाका नेतृत्वहरु एक हुनेपर्नेमा जोड दिँदै उहाँले मुलुकको समृद्धिको यात्रामा एक ढिक्का भई अघि बढ्नुको कुनै विकल्प नभएको उल्लेख गर्नुभयो ।

मिथिला नेपाल टिभीमा अन्तरवार्ता दिँदै उहाँले नेकपाको नेतृत्वमा रहनुभएका नेतृत्वगणलाई समान सम्मान गर्ने उल्लेख गर्दै सरकार ढाल्ने तथा पार्टी विभाजको दिशामा कुनै पनि सांसद तथा नेताहरु नलाग्ने दावी गर्नुभयो । सरकार सञ्चालनको लागि प्रधानमन्त्री केपी ओलीलाई सांसदहरुले बहुमतमा रहेको स्पष्ट प्रमाण लिखित रुपमा प्रस्तुत गरिसकेको जानकारी गराउँदै उहाँले अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपालले सत्ता परिवर्तन नभई पार्टी तथा संगठन निर्माणको निम्ती लाग्नु अहिलेको आवश्यकता रहेको औल्याउनुभयो ।

वर्तमान प्रधानमन्त्री केपी ओलीले आगामी निर्वाचन पछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष नवन्ने स्पष्ट पारिसक्नु भएको जानकारी गराउँदै उहाँले पार्टीको अधिवेशनलाई छिटो भन्दा छिटो गर्दै नेतृत्व परिवर्तनको ढोका खुल्ला गर्नुपर्नेमा जोड दिनुभयो । वर्तमान नेकपामा रहेको समस्या समाधानको बाटोमा अघि बढि अहिलेकै नेतृत्वमा आगामी तीन वर्षको सरकार सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकार तथा पार्टी सचिवालमा भएका गल्ती र कमजोरिलाई सञ्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री तथा राष्ट्रपति केपी ओली, प्रचण्ड, माधवकुमार नेपाल, बामदेव तथा झलनाथलाई चाहिएको बताउँदै उहाँले पाँच जनाको खेलोमेलोमा पार्टी वन्धक वन्ने खोजेकाले त्यस्तो बन्धक बनाउने कार्य आम पार्टीका कार्यकर्तालाई सैह्य नहुने समेत चेतावनी दिनुभयो । उहाँले तीन वर्ष कुर्ने पदको आकांक्षी नेतृत्वको हिम्मत किन नभएको भनि प्रश्न समेत गर्नुभयो ।

अन्य पार्टी तथा पार्टी वाहिरका पार्टीसँग साठगाँठ गरी कार्य गरे इतिहासले गद्दार तथा धोकेवाजको रुपमा व्याख्या गर्ने उल्लेख गर्दै उहाँले इतिहासमा नालायक पात्रको रुपमा परिचय स्थापीत गर्ने अवस्थाको सिर्जना नगर्न नेतृत्वलाई आग्रह समेत गर्नुभयो ।