राजनीति

चीनका राजदूत होउ यान्छी र नेकपाका नेताहरूबीच छुट्टाछुट्टै भेटवार्ता



काठमाडौँ, २० वैशाख । सत्तारुढ दल नेकपामा संकट गहिरिँदै गएको समयमा चीनका राजदूत होउ यान्छीले मतान्तर देखिएका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन् । चिनियाँ राजदूतले बिहीबार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भेट गरी चीनको चासो व्यक्त गरेकी थिइन् । तत्कालीन एमाले र माओवादीलाई मिलाउन चिनियाँको भूमिका र सद्भाव रहेको चर्चा भइरहेका बेला अहिले दलको विवादमा पनि चीन सक्रिय देखिएको छ ।

चिनियाँ राजदूतले सरकारसँग छलफल गर्न सक्नेमा किन सत्तारुढ दलका नेताहरूसँग यो समयमा भेट गरे भन्दै उनकै दलका नेताले चासो देखाएका छन् । चीनले वैचारिक मतसमेत मिल्ने भन्दै कम्युनिस्ट नेतृत्वसँग सहकार्यको हात बढाउँदै गएको छ । सत्तारुढ दलका विदेश विभाग प्रमुखसँग चिनियाँ विदेश विभाग प्रमुखले भिडियो कन्फरेन्स गरेका थिए । तर, अन्य दलका विदेश विभागसँग त्यो सहकार्य चीनले देखाएको छैन ।

पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले राजनीतिक अवस्था कमजोर भएपछि छिमेकी दौडधूपमा हुने हाम्रो पुरानै नियति रहेको बताए । यसमा पहिला अर्को छिमेकी (भारत), अहिले अर्को (चीन) सक्रिय छ । ‘यहाँ अर्थ विभिन्न लाउलान् तर म यति भन्छु, यो समयमा चिनियाँ राजदूत होउ तपाईं आरामै हुनुहुन्छ भनेर सोधपुछ वा औपचारिकताका लागि मात्र गएकी होइनन् होला’, आचार्यले भने । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।