राजनीति

डा. भट्टराईलाई कारवाहीको माग गर्दै सांसद बस्नेतसहित चार जनाद्वारा आयोगमा उजुरी दर्ता



ललितपुर, २२ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधीसभा सांसद एवं पूर्वमन्त्री महेश बस्नेत, सांसद कृष्णकुमार श्रेष्ठ (किसन) श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्रनाथ खनाल र नविन बस्नेतले मानव अधिकार आयोगमा उजुरी दर्ता गराउनु भएको छ ।

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सांसद अपहरण जस्तो गम्भिर र झूटो आरोप लगाएर आफूहरुको मानव अधिकार हनन एवं मानहानी गरेको भन्दै आज आयोग पुगेर डा. भट्टराई बिरुद्द उजुरी दर्ता गराउदै निष्पक्ष छानबिनको माग गरिएको छ । निवदेनमा भनिएको छ ‘नेपालको संविधानको धारा २४९ को उपधारा २ (क), २ (ख) र राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा १० बमोजिम मानव अधिकारको उल्लंघन भएको, दुरुत्साहन भएकोले सत्यतथ्य छानविन गरी प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गर्न गराउन सिफारिस गरी पाउंँ ।’

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेको भन्दै झूटो आरोप लगाई गलत प्रचार गर्दै आफू र आफ्ना परिवारको मनोबैज्ञानिक पीडा, अपहेलना, मानसिक क्षति पुर्याएको भन्दै कारबाही गर्न माग गरिएको हो । डा. यादबले समाजवादी पार्टीका प्रमुख सचेतक सांसद उमाशंकर अरगरिया र प्रदेश सांसद कौसल यादव लगायत आफुसँगै आएका अन्य आफन्तहरुबारे कुनै कुरा उल्लेख नगरी, डा.भट्टराई तथा विश्वदिप पाण्डेको सम्पर्कमा पुगेपछि बदनियतपूर्वक र राजनीतिक लाभ लिने उद्देश्यबाट प्रेरित भई गम्भिर आरोप लगाएको उहाँको भनाई छ ।

आयोगमा नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले भन्नुभयो “समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाको आग्रहमा राजनीतिक छलफलका लागि महोत्तरी गएका हौ, सांसद यादव कै घरमा खाना खाएर उहाँका पार्टीका बिभिन्न नेता एवं सांसदहरुले तीन ठाउँमा उहाँहरुको गोप्य छलफल पछि प्रधानमन्त्रीसंग भेट गरेर महत्वपूर्ण जिम्मेवारी दिनुपर्छ भन्दै सांसद डा. यादव आउनु भएको हो, पार्टी एकतादेखि धेरै विषयमा कुराकानी गर्न सहमतिकै आधारमा काठमाण्डौं आएपनि डा. बाबुराम भट्टराईको नेतृत्वमा यसलाई अतिरञ्जित गरिएको, गम्भिर आरोपहरु लगाईएको छ, यसको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गर्दछौ ।”

आयोगमा अर्का सांसद श्रेष्ठले कास्कीको विकासमा निरन्तर लागि रहेको, आफूले पाउने तलब एवं सुविधा समेत कास्कीको विकासमा खर्च गरेको व्यक्तिलाई अपहरण जस्तो गम्भिर आरोप लगाएर आफूहरुको चरित्र माथि दाग लगाउने र मानसिक तनाब दिने व्यक्ति उपर छानबिनगरी कारबाही गर्न माग गनुर््भयो ।

सांसद श्रेष्ठले भन्नुभयो “हामीलाई अपहरकारीजस्तै बनाएर प्रचार गरिएको छ, यसले हाम्रो व्यक्तिगत, पारिवारिक, सामाजिक र राजनीतिक जीवनलाई असर पारेको छ, बदनाम गराउने प्रयास गरेकोले छानबिन गरी कारबाही हुनुपर्छ ।”

पूर्वप्रहरी महानिरीक्षक खनालले प्रहरी सेवामा आफूले निस्कलंकित भएर ३० वर्ष पुर्याएको योगदानलाई मेट्ने, सरकार र देशका लागि विदेशमा समेत उच्च छवि बनाएको व्यक्तिलाई अपहरणको आरोप लगाएर आफू र परिवारमा मानसिक क्षति पुर्याउने उपर कारबाही हुनुपर्ने माग राख्नुभयो ।

खनालले भन्नुभयो–“नेता डा. यादवले घरमा लगेर खाना खुवाउनुभयो, उहाँको श्रीमति, दुई छोरी र परिवारका सदस्यलाई नेपालको सुरक्षाको हिरो भनेर परिचय गराउनुभयो, परिवारसंग र उहाँका पार्टीका सांसद एवं नेताहरुसंग मेरो प्रंशसा गर्नुभयो, उहाँले पार्टीका नेताहरुसंग छुट्टै छलफल गर्नुभयो र उहाँहरु बिच गोप्य छलफलमा कुरा मिलेपछि घरमा गएर काठमाण्डौं जान लुगा फेरेर लुगाको सुटकेश बोकेर आएका व्यक्तिको अपहरण भयो भनेर गम्भिर आरोप लगाइएको छ, यसले मलाई मात्रै हैन, मेरो परिवार, आफन्त र शुभचिन्कको समेत मानसिक क्षति पुगेको छ, यसमा कारबाही हुनुपर्छ ।”

आयोगमा पेश गरेको निवेदनमा डा. यादवलाई नेता डा.भट्टराईले आफ्नो घरबाट निस्किन नदिइ नियन्त्रणमा राखी शरीर बन्धकमा बनाएकोबारेमा प्रदेश सांसद कौशल यादवको भनाईबाट पुष्टी भएको दाबी गर्दै सत्यघट्नालाई लुकाएर अफबाह फैलाउने आङकाजी शेर्पा र शरीर बन्धक लिने पूर्वप्रधानमन्त्री डा.भट्टराईउपर अनुसन्धान गरी कारबाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गर्न अनुरोध गरिएको छ ।

त्यस्तै फेसबुकलगायत सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई भष्मासुर भन्ने शब्द प्रयोग गरेर मानहानी गरिएको, जातीय सद्भाव भड्काउने गरी टपरे बाहुन जस्ता शब्द प्रयोग गर्दै घृणा र द्वेष फैलाउने कार्य गरेको भन्दै डा. भट्टराई र विश्वदिप पाण्डेलाई साइबरक्राइम अन्तर्गत कारबाही गर्न सिफारिस गर्न माग गरिएको छ ।

उजुरी बुझ्दै आयोगमा सदस्य प्रकाश वस्तीले यसबारेमा निष्पक्ष छानबिन गर्ने, प्रमाणहरु जुटाउने,आवश्यक परे सम्बन्धित स्थानहरु मै गएर छानबिन गर्ने र मानव अधिकार हनन भए नभएको सत्यतथ्य बाहिर ल्याउने बताउनुभयो ।

महोत्तरीस्थित घरबाट वैशाख १० गते जबरजस्ती काठमाडौं ल्याएको भन्दै डा.यादवले मानव अधिकार रक्षा गरिदिन माग गर्दै वैशाख १८ गते आयोगमा उजुरी दर्ता गराएको थियो ।