राजनीति

समितिको निष्कर्ष : लकडाउन खुकुलो पार्ने अवस्था छैन



काठमाडौँ, २४ वैशाख । कोभिड–१९ को उच्च जोखिम नघटेपछि सरकारले यथास्थितिमै लकडाउन थप्ने भएको छ । लकडाउनको डेढ महिना अवधि बित्दा संक्रमितको संख्या झनै बढ्न थालेपछि लकडाउन खुकुलो बनाउन नहुने निष्कर्षमा सरकार पुगेको हो । चैत ११ मा लकडाउन सुरु हुँदा नेपालमा दुई जना मात्र संक्रमित रहेकामा अहिले ८२ जना पुगिसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित मंगलबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउन खुकुलो पार्दा झन् जोखिम हुन सक्ने निष्कर्ष निकाल्दै अहिलेकै मोडालिटीमा लकडाउन लम्ब्याउने निर्णय गरेको समिति सदस्य एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार संक्रमितको संख्या बढ्ने दर, परीक्षणको दायरा र सीमाका जिल्लाको जोखिमका कारण अहिले नै लकडाउन खुकुलो पार्न नहुने प्रतिवेदन ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ र स्वास्थ्य मन्त्रालयबाट पेस भएको छ ।

बैठकमा प्रधानमन्त्री ओली स्वयंले लकडाउन खुकुलो पार्ने अवस्था नरहेको बताएका थिए । ‘भारतमा पनि संक्रमण तीव्र गतिमा फैलिरहेको छ, हाम्रोमा पनि जोखिम घटेको छैन । त्यसैले अहिले लकडाउन खुकुलो पारेर जान सकिँदैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

बैठकले मुलुक अझै पनि कोरोनाको उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ । यही निष्कर्षलाई आधार मानेर बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि बढाउने निर्णय गर्नेछ । ‘मंगलबार कति समय लकडाउन लम्ब्याउने भन्नेबारे कुराकानी नभए पनि यही मोडालिटीमा थप्नुपर्छ भन्ने निष्कर्ष निस्किएको छ,’ ज्ञवालीले भने । यसअघि कार्यदल बैठकले कम्तीमा १ साता र बढीमा १४ दिन लकडाउन थप्न सकिने प्रस्ताव तयार पारेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।