राजनीति

मन्त्री नेम्वाङद्वारा व्यवसायीको माग सम्बोधन गर्ने प्रतिबद्धता



काठमाडौँ, २५ वैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बन्दाबन्दीका कारण यातायात व्यवसायीहरू बढी मर्कामा परेको भन्दै राहतका लागि पहल गरिने बताएका छन् ।

बिहीबार मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिहरूलाई उनले सो कुरा बताएका हुन् ।  मन्त्री नेम्वाङले यातायात क्षेत्र बढी नै प्रभावित भएकाले व्यवसायीहरूको मागप्रति पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बन्दाबन्दी खुलेपछि पनि सार्वजनिक यातायात कसरी व्यवस्थित गरेर सञ्चालन गर्ने भन्ने कुरा चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अति प्रभावित भएका यातायात व्यवसायीहरूले भने राहत प्याकेजको माग गरेका छन् । महासङ्घले लकडाउनका कारण दुई लाख ५५ हजार सार्वजनिक सवारीसाधन सञ्चालन नहुँदा मजदुर, सवारीधनी र आश्रित परिवारसहित ४२ लाख जनसङ्ख्या प्रभावित भएको जनाएको छ । सवारी सञ्चालन गर्न नपाउँदा बैङ्क किस्ता र ब्याज तिर्न नसकेको भन्दै सुविधाको माग गरेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।