राजनीति

लकडाउनले नछोएको कास्कीको विकास



पोखरा, २५ वैशाख । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम तथा लकडाउनका कारण अधिकाशं ठाउँहरुको विकास निर्माणका कार्यहरु ठप्प भइरहेको अवस्थामा पनि कास्की जिल्लाको भने त्यस्तो नभई विकास निर्माणका कामले तिव्रता पाइरहेको छ ।

कास्की ३ (२) मा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफु मुख्यमन्त्री भएपछि पहिलो पटक शिलान्यास गर्नुभएको पोखरा महानगरपालिका वडा नं. २२ मा रहेको फुर्सेखोलाको पक्की पुलको आज ढलान गरिएको छ । प्रदेश सरकारको रु तीन करोड ९८ लाखको लागतमा निर्माण शुरु गरिएको उक्त पुल निर्माणमा नेपाल सरकारले घोषणा गरेको लकडाउनको पूर्ण रुपमा पालना गरि सामाजिक दुरी समेत कायम गर्दै आज उक्त ३५ मिटर लम्बाई तथा ८.५ मिटर चौडाई भएको फुटपातसहितको डबल लेनको पक्की पुलको ढलान सम्पन्न भएको छ । मुख्यमन्त्री, सांसद तथा जिम्मेवार निकायका प्रतिनिधिले गरेको अनुगमन तथा निरिक्षणले लकडाउनको समयमा काम गर्ने कामदारलाई हौसला समेत बढाइएको छ ।

खाने मुखलाई जुँगाले छेक्दैन भने जस्तै गर्न चाहयो भने नहुने केही छैन भन्ने उदाहरणको रुपमा प्रस्तुत भएको उक्त पुल आधुनिक युरोपियन प्रविधीको प्रयोग गरी निर्माण गरिएको उक्त पुलको निर्माण कार्य दुई वर्ष भित्रमा सम्पन्न गर्ने सम्झौता भएको थियो । सम्झौताको सम्पन्न मिति ७७ फागुनसम्म भएता पनि आगामी असार भित्रमा पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ ।

समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउने मुख्य जिम्मेवारी प्राप्त गर्नुभएको जनप्रतिनिधिहरुले विकास निर्माणको योजना तथा त्यसको शुरुवातलाई मात्र जिम्मेवारी नठानी दैनिक रुपमा अनुगमन तथा निरिक्षण अर्को महत्वपूर्ण पक्ष रहेको छ । जसमा उक्त पुलको कामको प्रगति तथा अवस्थाको अनुगमन तथा निरिक्षण गर्न मुख्यमन्त्री गुरुङ, त्यसै क्षेत्रका प्रदेश सांसद राजिव पहारी, प्रदेशका प्रमुख सचिव हरी वस्याल, योजना आयोगका उपाध्यक्ष डा. गिरधारी शर्मा, न्यायधिवक्ता राजेन्द्र घिमिरे, प्रदेशका डिआइजी धनश्याम अर्यालसहितको स्थानीयवासीको उपस्थितीमा कामको अनुगमन तथा निरिक्षण गरिएको छ ।

पोखराबाट सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जाको कुविण्डे पुग्न १३ किलोमिटर दुरी रहेको छ । उक्त पुल निर्माण सम्पन्न भएसँगै पोखराबाट स्याङ्जा जाने वैकल्पीक मार्गको रुपमा हुने स्थापीत हुने भएको छ । उक्त पुल निर्माण भएपछि कुविण्डे पुग्न करिव ८ किलोमिटरमात्र दुरी हुने सांसद पहारीले जानकारी गराउनुभयो ।

९ करोडको लागतमा खहरे खोलाको पुल, घान्द्रुकमा २१.५ करोडको लागतमा धमाधम निर्माण भइरहेको सांसद पहारीले जानकारी गराउनुभयो । जहाँ समस्या, त्यहाँ समाधान हुने भन्दै सांसद पहारीले कुनै पनि विकास निर्माणको कार्यमा समन्वयन तथा सहयोग जनप्रतिनिधि हाजिर हुने समेत प्रतिवद्धता जनाउनुभयो ।

अनुगमनका क्रममा मुख्यमन्त्री गुरुङले लकडाउनले विकास निर्माणमा ठूलो क्षती पुग्ने भएपछि सामाजिक दुरीलाई कायम गर्दै आयोजनाहरु तथा उत्पादनका कार्यहरु अघि बढाउने कार्यविधि नै बनाएर प्रदेश सरकार अघि बढिरहेको जानकारी गराउनुभयो । राष्ट्रिय गौरवका आयोजना तथा प्रदेश सरकारका आयोजनाहरु समेत निर्माणका कार्यहरु शुरु गरिएको जानकारी गराउँदै उहाँले निर्माणका सामाग्रीहरु अन्य प्रदेश तथा विदेशी मुलुकबाट समेत ल्याउनपर्ने भएकाले विशेष समन्वय गरी अघि बढ्दै निर्माण व्यवसायीलाई प्रोत्साहन समेत गर्दै सरकार अघि बढिरहेको जानकारी गराउनुभयो ।

विकास र निर्माणको माध्यमबाट समृद्ध प्रदेश बनाउन सकिने वताउँदै मुख्यमन्त्री गुरुङले उक्त प्रदेशका सांसद पहारीको जोश, जाँगर, उत्साह, लगनशिलता, दृढताको साथमा जनताको साथ र सहयोगले विकसित प्रदेश बन्नेमा विश्वास व्यक्त गर्नुभयो । त्यस्तै उहाँले मुलुकको विषम परिस्थितीमा आयोजनालाई तिव्र गतिका साथ अघि बढाएकोमा निर्माण कम्पनीलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।