राजनीति

सीमा समस्या समाधान गर्ने अवसर छ, सवै ऐक्यवद्ध भई लागौं : मुख्यमन्त्री पोखरेल



काठमाडौँ, २७ वैशाख । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले लामो समयदेखी समस्या तथा विवादमा रहेको नेपाल भारतको सीमा क्षेत्रमा भएका समस्या समाधान गर्ने अवसर आएको बताउँदै त्यसको लागि सवै ऐक्यवद्ध भई लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

भारतले पटक पटक गरेको अतिक्रमणका प्रमाणका आधारमा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको लागि अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको औल्याउँदै मुख्मन्त्री पोखरेलले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण खुल्ला सीमाको समस्या उजागर भइरहेको समयमा हिजो एकलैटी ढंगले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै मानसरोवर जाने बाटो नेपालको विना मन्जुरी उद्घाटन गरेकोमा आपत्ती जनाउनुभयो ।

हिजो नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोवरको बाटो खोलेको छ । भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ)ले कैलाश मानसरोवर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ । कोभिड-१९ को महामारी सामना गर्दै बीआरओले १७ हजार ६० फिट उचाइमा रहेको कैलाश मानसरोवरमा बाटो विस्तार गरेको हो ।’

सोहीलाई प्रतिवाद गर्दै मुख्यमन्त्री पोखरेलले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘लकडाउनले खुला सिमाको समस्या उजागर गरेकावेला कालापानी क्षेत्रको किचलो नेपाललाई सिमा समस्या समाधान गर्ने अवसर हो । ऐक्यवद्ध भइ पहल गरौं ।’