राजनीति

मुलुक यस युगकै कठिन लडाइँमा छ, दूरगामी प्रभाव जटिल : मन्त्री ज्ञवाली



काठमाडौँ, २८ वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुक यति बेला यस युगकै कठिन लडाइँमा रहेको बताउनुभएको छ । ब्रेनगेन सेन्टरले शनिबार ‘स्वास्थ्य अनुसन्धान, अवसर र चुनौती : कोभिड–१९ र यसको भूमिका’ विषयमा आयोजना गरेको अनलाइन छलफल कार्यक्रममा उहाँले कोरोना भाइरसविरुद्ध यो लडाइँको असर दीर्घकालीन रूपमा पर्ने प्रस्ट्याउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो पुस्ताको सबैभन्दा कठिन महामारीविरुद्ध लडिरहेका छौँ । यस्तो लडाइँ जहाँ कुनै हतियार काम लाग्दैन, जसमा कुनै पनि देशको उच्च विकास र सम्पदा काम लाग्दैन । राजनीतिक घेराको पनि अर्थ छैन ।” यस छलफलले कोभिड नियन्त्रणका लागि नयाँ विचार दिएकाले त्यसलाई सरकारको नीतिसँग जोडेर लैजान सकिने उहाँले बताउनुभयो ।

उहाँले कोरोना विरुद्धको लडाइँ कति लामो हुने भन्नेबारेमा पूर्वानुमान गर्न नसकिने औँल्याउनुभयो । उहाँका अनुसार यसले पार्ने दूरगामी प्रभाव जटिल देखिँदैछ । दिगो विकासको लक्ष्यलाई गम्भीर रूपले धक्का दिने आकलन गर्दै गएको तीन वर्षदेखि छ प्रतिशतको आर्र्थिक वृद्धिदर यो वर्ष तीन प्रतिशतभन्दा कममा खुम्चिएको मन्त्री ज्ञवालीको धारणा छ । अझ विश्वव्यापी श्रम बजारमा धक्का पु¥याउनुका साथै सामाजिक प्रणालीमा समेत खलबल ल्याउने देखिएको उहाँले सुनाउनुभयो । कुल गार्हस्थ्य उत्पादनमा योगदान दिने २६ प्रतिशत रेमिट्यान्स र पर्यटनसँगै विकासको गतिमा धक्का पु¥याउने स्थिति छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।