राजनीति

नेपाली सेनाद्वारा भारतीय सेनाध्यक्षको तीन दिवसीय भ्रमण तालिका सार्वजनिक



काठमाडौँ, १२ कार्तिक । नेपाली सेनाले भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपालको तीन दिवसीय भ्रमण तालिका सार्वजनिक गरेको छ । नेपाली सेनाका अनुसार भारतीय सेनाध्यक्ष नरवणे आगामी कात्तिक १९ गतेदेखि २१ गते (नोभेम्बर ४ देखि ६ तारेख)सम्म नेपाल भ्रमणमा रहने भएका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । नेपाली सेनाका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाल भ्रमणमका क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुनेछ ।

नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ । नेपाली सेनाका अनुसार रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनरल नरवणेले औपचारिक भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

त्यस्तै, प्रधानसेनापति थापासँग जनरल नरवणेले औपचारिक भेटवार्ता र छलफल गर्नेछन् । कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग जनरल नरवणेले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको पनि बताइएको छ ।

भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जलि अर्पणका साथै जङ्गीअड्डामा सम्मान गारद निरीक्षण गर्नेछन् । जनरल नरवणेको भ्रमण दल चार सदस्यीय हुनेछ ।