राजनीति

भक्तपुरमा सुविधा सम्पन्न कोरोना अस्पताल तत्काल सञ्चालन हुने



भक्तपुर, १२ कार्तिक । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा समेत व्यापक मात्रामा बढ्दै गइरहेको र विरामीले उपचारमा समेत समस्या उत्पन्न भइरहेको समयमा भक्तपुरको जगातीमा सुविधिसम्पन्न नगर कोभिड अस्पताल सञ्चालनमा आउने भएको छ ।

उक्त अस्पताल हाललाई कारोना संक्रमितको उपचार गरिने भए पनि स्थायी रुपमा नगरअस्पतालको रुपमा सञ्चालनमा ल्याईने भएको छ । सोही अनुसार भौतिक संरचनाको समेत विकास र विस्तार गर्दै लगिने बताइएको छ । भक्तपुरको जगातीस्थित भक्तपुर इँटा टायल कारखानामा निर्माणाधीन नगर कोभिड अस्पताल तिहार लगत्तै सञ्चालनमा आउने भएको छ ।

उपत्यकामा दिनानुदिन संक्रमितको संख्या बढ्दै गइरहेको समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत तथा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाको विशेष पहलमा उक्त अस्पताल सञ्चालनमा आउन लागेको हो । सांसद बस्नेतको निर्वाचन क्षेत्र विकास कोष (सांसद विकास कोष) र सूर्यविनायक नगरपालिकाको साझेदारीमा १ करोड ५० लाखमा निर्माण हुन लागेको हो ।

उपत्यकामा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि सांसद बस्नेत र सूर्यविनायक नगरपालिकाले उपत्यकामै पहिलो पटक आफ्नै पहलमा भेन्टीलेटर र आईसीयूसहितको ५० शैय्याको अस्पताल सञ्चालनमा ल्याउन लागेको हो ।

सांसद बस्नेतको अगुवाईमा उक्त स्थानमा तत्काका लागि नगर कोभिड अस्पताल सञ्चालन हुने भएको हो । निर्माणाधीन अस्पतालको निरीक्षण गर्दै सांसद बस्नेतले तिहार लगत्तै ५० शैयाका साथ सञ्चालनमा आउने जानकारी गराउनुभयो । अस्पताल निर्माणका लागि नगरपालिका, वीरदल गणका प्राविधिक टोलीसहित निरीक्षणका लागि पुग्नुभएका सांसद बस्नेतले सोही ठाउँमा स्थायी संरचनाका साथ नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याइनेसमेत जानकारी गराउनुभयो ।