राजनीति

पार्टीमा प्रचण्ड–माधवको मुटु र फोक्सो कमजोर भएकाले खोक्दै हुनुहुन्छ: पूर्वमन्त्री बस्नेत



सुर्खेत, १४ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले संसद विघटन पछि आगामी निर्वाचनमा हार्छु भन्नेहरु निर्वाचन हुँदैन भन्दै गीत गाइरहेको आक्रोस व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल कर्णाली प्रदेशले सुर्खेतमा आयोजित कार्यक्रमा बोल्दै पूर्वमन्त्री बस्नेतले निर्वाचन हुँदैन भन्ने बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, रामचन्द्र पौडेललगायतका नेतालाई अबका दिनमा राजनीति गरी जनताको सेवा गर्नेभन्दा पनि सडक नाटकमा लगाई दिँदा उत्तम हुने तर्क प्रस्तुत गर्नुभयो ।

प्रचण्ड–माधव नेतृत्वको गुटले सरकारलाई यो गर्छौं त्यो गर्छौं भन्दै खोक्दै जनतालाई भ्रममा पर्ने प्रयास गरिरहेकोमा आक्रोस व्यक्त गर्दै नेता वस्नेतले भन्नुभयो, ‘प्रचण्ड–माधवको मुटु र फोक्सो कमजोर भएकाले खोक्दैछन्, दह्रो हुनेले खोक्दैन, काम गरेर देखाउँछ । बाग्मती र प्रदेश नं. १ मा अविश्वासको प्रस्ताव लानुभएको छ । हिम्मत हुनेले पार्टीको संसदीय दलमा अविश्वासको प्रस्ताव लाने हो । संसदको सचिवालयमा हैन । आफ्नो नेतृत्वको गुटको पार्टीमा बहुमत नपुग्ने भएपछि संसदीय पद्धतिलाई लत्याएर संसद सचिवालयमा अविश्वासको प्रस्ताव लानुभएको छ । त्यबाट के प्रष्ट हुन्छ भने, माधव प्रचण्डको मुटु र फोक्सो नै कमजोर भएकाले बढी खोक्दै हुनुहुन्छ । त्यसको नतिजा राम्रो आउँदैन । आगामी निर्वाचनले देखाइदिनेछ ।’

प्रचण्ड–माधव पार्टीबाट अलग भएर जाँदैमा ठूलो समस्या नहुने तर्क गर्दै नेता बस्नेतले प्रचण्ड, माधव, झलनाथ, नारायणकाजीलगायतका केही नेता पार्टीको लागि गलगाँड र ट्युमर भएको बताउनुभयो । ‘गलगाँड, ट्युमर, पीलो फलेर शरिको वजन घट्दैन, तन्दरुस्त हुन्छ’ उहाँले भन्नुभयो, ‘सूर्य चिन्ह र नाम प्रचण्ड–माधवले पाउने सपना नदेखे हुन्छ । छोरी लान पाउनुहुन्छ तर थर र गोत्र लान पाउनेछैन । हाम्रा कार्यालयमाथि आँखा नलगाउनुस्, तपाईका कार्यालयमा पनि आँखा लगाउँदैनौं । बनाउने क्षमता नभएकाले भत्काउने पनि अधिकार छैन ।’

व्यक्तित्व र नेतृत्वको टावरलाई उठाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लैजान अवसरवादी, अराजक, भ्रष्ट प्रचण्ड–माधवले गर्दा जटिल समस्या पैदा भएको भन्दै आक्रोस व्यक्त गर्नुहुँदै नेता बस्नेतले प्रधानमन्त्री ओली नेपालको अभिभावक भएकाले नेपाली जनताले बा भनेर सम्बोधन गरेकाले माधवलगायतका नेताहरुको टाउको दुखेको स्पष्ट पार्नुभयो ।

प्रचण्डले प्रधानमन्त्री ओलीलाई सामन्तर र प्रतिगनम तर्फ लागेको झुटो आरोप लगाएको उल्लेख गर्दै उहाँले केपी ओलीको उचाई र इतिहास नबुझ्ने अबुझले अनावश्यक आरोप लगाएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीको खड्गले कम्युनिष्ट आन्दोलनको विकृति र विसंगतिलाई सदाको लागि अन्त्य गराएको तर्कसहित प्रस्तुत गर्दै नेता वस्नेतले ओलीकै खड्कले अपराधिक तथा भ्रष्टिकरणलाई सधैंको लागि विदा गर्ने उद्घोष समेत गर्नुभयो ।

सीमा रक्षा, परराष्ट्र नीति, सुरुङ मार्ग, जलमार्ग, रेलमार्ग, विद्युतलाई अन्तर्राष्ट्रिय रुपमा विक्रि, पेट्रोलियम पाईप लाईन, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्गलागयतका असंख्य आयोजनाहरु तिव्र गतिका साथ अगाडी बढाउँदै राष्ट्रको शिर उचो बनाएकाले प्रधानमन्त्री ओली राष्ट्रियताका सवालमा महानायक भएको दावी गर्नुभयो ।

प्रधानमन्त्री ओलीकै नेतृत्वमा एकै पटक करिव चार सयभन्दा बढी अस्पतालहरुको शिलान्यास गरेर नेपालको इतिहास नै व्रेक गरेका बताउँदै उहाँले युवाहरुलाई रोजगारीको लागि सरकारले विभिन्न प्रकारका युवा, विद्यार्थी, महिलामुखी कार्यक्रमहरु ल्याएको बताउनुभयो । कृषिलाई वैज्ञानिकीकरण तथा यान्त्रीकरणलाई प्राथमिकता सरकारले दिइरहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री अ‍ोलीको नेतृत्वमा आयात घटेको निर्याता बढेको स्पष्ट पार्नुभयो ।

जबजलाई आधार मध्यनजर गर्दै विकास र समृद्धिको यात्रा अगाडी बढाएको उदाहरणहरु प्रस्तुत गर्दै उहाँले शान्ति सुरक्षा तथा अमनचयनमा नेपालको इतिहासमा सवैभन्दा उत्कृष्ट काम गरेको बताउनुभयो । केपी ओलीले कम्युनिष्ट पार्टीको नाममा हुने अपराधिक गतिविधिलाई निस्तेज पार्ने उद्घोष गर्नुभयो । पूर्वउद्योगमन्त्री समेत रहनुभएका नेता बस्नेतले नेपालको राजनीतिमा खराव व्यक्तिलाई निर्णायक तहमा पुर्याउनु हुँदैन भन्ने उद्देश्यका साथ संसद विघटन भएको बताउनुभयो ।

दशौं हजार भन्दा बढीको सहभागितामा भएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, संघका सहसंयोजक रमेश पौडेल, नेता बचन बहादुर सिं, राजन थापालगायतका नेताहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।