राजनीति

काठमाडौँका ११ वटा स्थानीय तहसहित ५१६ वटा भौतिक पूर्वाधारका योजना निर्माण हुने



काठमाडौँ, १४ पौष । चालू आर्थिक वर्षमा काठमाडौँका ११ वटा स्थानीय तहमा गरी ५१६ वटा भौतिक पूर्वाधारका योजना निर्माण हुने भएका छन् । सङ्घअन्तर्गतको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट २३७ र प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यक्रमबाट २७९ वटा गरी ५१६ वटा पूर्वाधार कार्यक्रम कार्यान्वयन हुन लागेका हुन् । ती पूर्वाधार निर्माणका लागि काठमाडौँका १० वटा र प्रदेशका २० वटा निर्वाचन क्षेत्रबाट योजना छनोट भई धमाधम कार्यान्वयनको चरणमा छन् ।

सबै योजना पूर्ण रूपमा कार्यान्वयन भइसक्दा काठमाडौँँमा ठूला पूर्वाधार निर्माण हुने अपेक्षा गरिएको छ । चालू आर्थिक वर्षमा काठमाडौँमा सङ्घअन्तर्गत १० वटा निर्वाचन क्षेत्रमा गरी ४० करोड र बागमती प्रदेशअन्तर्गत काठमाडौँँका २० वटा निर्वाचन क्षेत्रमा ६० करोड रुपियाँ गरी एक अर्ब रुपियाँको लागतमा भौतिक पूर्वाधारको काम हुने काठमाडौँको जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारीले जानकारी दिए ।

सरकारले सङ्घीय सांसदलाई स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम गर्न चालू आर्थिक वर्षका लागि प्रतिसांसद चार करोड रुपियाँ र प्रदेशको पूर्वाधार कार्यक्रमका लागि प्रतिसांसद तीन करोड रुपियाँ प्रदान गरेको छ ।

सङ्घअन्तर्गतको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट जिल्ला समन्वय समितिको प्रशासनिक खर्चका लागि १६ लाख र प्रदेश पूर्वाधार कार्यक्रमबाट २४ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।