समाचार

शिवरात्रिमा पशुपतिनाथ मन्दिरमा प्रवेश गर्दा मास्क अनिवार्य



काठमाडौँ, २६ फागुन । याे वर्ष मास्क नलगाउने भक्तजनहरुलाई पशुपतिनाथकाे दर्शनमा राेक लगाइने भएकाे छ । कोरोना महामारी कायमै रहेकाले मास्क नलगाउने भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको हाे ।

शिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथको मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने कोषले जनाएको छ । कोषका अनुसार मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ ।

अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ता चप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना बनाइएको छ । साधुसन्तको सङ्ख्या पनि विगत वर्षको भन्दा कम हुने अनुमान छ । भोलिको शिवरात्रिका लागि झण्डै तीन हजार साधुसन्त पशुपति क्षेत्रमा आइसकेका कोषले जनाएको छ ।