Banner News

खोप अभियान : सार्क मुलुकमा नेपाल दोस्रो स्थानमा



काठमाडौँ, २८ फागुन । सार्क मुलुकमा भारतले पहिलो पटक माघ ३ गते खोप अभियान सुरु गरेको थियो । त्यसपछि यो क्षेत्रमा खोप पाउनेमा दोस्रो बन्यो नेपाल । हामीकहाँ माघ १४ गते सुरु गरिएको अभियान दोस्रो चरणमा पुगेको छ । यो अवधिमा झन्डै ४.५ प्रतिशत जनसंख्याले खोप लगाएका छन् । जब कि भारतमा कुल जनसंख्याको १.४ प्रतिशत (बुधबारसम्म)ले मात्रै लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।

भारतले सुरुमा १० लाख डोज कोभिसिल्ड खोप नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको थियो । भारतकै सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ नेपालीले लगाएका छन् । दोस्रो चरणमा बिहीबारसम्म ९ लाख ११ हजार ९ जनाले लगाएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले बताए ।

डा. गौतमका अनुसार ‘खोप कभरेज’ कुल जनसंख्याको ४.५ प्रतिशत छ । ‘खोप कभरेजमा हामी भारतभन्दा अगाडि छौं’, डा. गौतमले भने, ‘सार्क मुलुकमा हामी दोस्रो स्थानमा छौं । पहिलो स्थानमा माल्दिभ्स छ । खोपको सुरुवात त र कभरेज गर्नेमा नेपाल उदाहरणीय बनेको छ ।’ उनका अनुसार सयभन्दा बढी मुलुकले अझै खोप पाएका छैनन् ।

सरकारले सेरम इन्स्टिच्युटबाट चार डलरका दरमा २० डोज खरिद सम्झौता गरी १० लाख डोज ल्याएर दोस्रो चरणको अभियान जारी छ । बाँकी १० लाख डोज ल्याउने तयारी सरकारको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।