अर्थ

कम गुणस्तरको बिजुलीले उद्योगलाई सकस



काठमाडौँ, २३ जेठ । मुख्य औद्योगिक कोरिडोर बारा–पर्साका उद्योगहरू कम गुणस्तरीय बिजुलीको मारमा परेका छन् । केही वर्ष लोडशेडिङबाट मुक्ति पाएका यहाँका उद्योग अहिले अघोषित लोडशेडिङ र ट्रिपिङको समस्या झेलिरहेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले बारा र पर्साका उद्योगमा लोडशेडिङ नभएको बताएको छ । तर, विनासूचना घण्टौं विद्युत् आपूर्ति बन्द हुने गरेको उद्योगी बताउँछन् । पटकपटक हुने ट्रिपिङका कारण उद्योगको कच्चा पदार्थ खेर जाने र गुणस्तरमा समस्या देखिएको उद्योगीहरूको गुनासो छ ।

कोरिडोरका फलाम, कपडा, औषधि र भट्टीमा आधारित उद्योेगहरू बढी प्रभावित भएको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए । ‘उद्योग चलिरहेको बेला अचानक बत्ती जाँदा प्रोसेसमा रहेको कच्चा पदार्थ खेर जाने र उत्पादनको गुणस्तरसमेत घट्ने हुन्छ । बारम्बार विद्युत् जाँदा उद्योगका उपकरण बिग्रिनुका साथै विद्युत् पनि बढी खर्च हुन्छ,’ अर्का एक उद्योगीले भने ।

वीरगञ्ज–परवानीपुर प्रसारण लाइनको क्षमता कमजोर भएकाले विद्युत्को माग बढी भएका बेला ट्रिपिङ बढी भइरहेको प्राधिकरणले बताएको छ । यो समाचार आजको आर्थिक अभियन दैनिकमा छ ।