अर्थ

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौता



काठमाडौँ, २७ जेठ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच मर्जरमा जाने सहमति भएको छ ।

आज दिउँसो बसेको बैठकमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

हाल इन्भेष्टमेन्ट बैंकको १ सय कित्ता सेयर बराबर मेगा बैंकको ९० कित्ता बराबर (१ बराबर ०.९ प्रतिशत स्वाप रेसियो) हुनेगरी मर्जर गरिने प्रारम्भिक सहमति भएको छ । इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रूपैयाँ छ। त्यसपछि बन्ने बैंक नेपालकै सबैभन्दा ठूलो हुनेछ ।

बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुने सहमति भएको छ । यी दुई बैंकको १ बराबर ०.९ प्रतिशत स्वाप रेसिया कायम भए चुक्ता पुँजी ३२ अर्ब ८० करोड रूपैयाँ पुग्नेछ । बैंकले स्वापको कारण उब्रने रकम (प्रिमियम) पछि बोनस शेयर दिँदा चुक्तापुँजी ३४ अर्ब पुग्ने उल्लेख गरेको छ । यद्यपि स्वाप रेसियोको टुंगो भने सम्पत्ति मूल्यांकन प्रतिवेदन (ड्यू डेलिजेन्स रिपोर्ट) ले गर्नेछ ।

मर्जर सम्भव भए त्यसपछि बन्ने बैंकको कुल निक्षेप संकलन ३ खर्ब २७ अर्ब र कर्जा लगानी ३ खर्ब १२ अर्ब रूपैयाँ पुग्नेछ । हाल इन्भेष्टमेन्ट बैंकको कर्जा प्रवाह १ खर्ब ६५ अर्ब र मेगाको १ खर्ब ४७ अर्ब छ। त्यस्तै इन्भेष्टमेन्टको निक्षेप संकलन १ खर्ब ८० अर्ब र मेगाको १ खर्ब ४७ अर्ब छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४७ करोड र मेगा बैंकले २ अर्ब नाफा कमाएको थियो ।