अर्थ

काठमाडौँ महानगको बजेट दोब्बर बढ्यो, प्राथमिकतामा सम्पदा संरक्षण



काठमाडौँ, ११ असार । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा महानगर क्षेत्रका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण र सम्वर्द्धनलाई प्राथमिकता दिइएको छ।

महानगर उपप्रमुख सुनिता डंगोलले भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आयोजित नगरको ११ औं अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। जसअन्तर्गत वडा नम्बर ११ मा अवस्थित हरिभवनको प्रवलीकरण, सरकारी, निजी तथा गैरसरकारी संस्थाको खाली रहेको जग्गामा पोखरी निर्माण, डबलीको पुर्नस्थापना, बस स्टपमा परम्परागत शैलीको फल्चा निर्माण, बाजा संग्रहालय, कला संस्कृतिको संरक्षणको विशेष कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

चालु आर्थिक वर्षभन्दा दोब्बर बजेट

महानगरको आगामी आर्थिक वर्षको लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको अनुमानित बजेट विनियोजना भएको छ। यसअघि आर्थिक वर्ष २०७७/७८ मा कुल १६ अर्ब २६ करोड २६ हजारको बजेट विनियोजना भएको थियो। उपप्रमुख डंगोलले आगामी आर्थिक वर्ष वडा कार्यालयलाई सेवा प्रवाह, विकास निर्माण र प्रत्यक्ष जनचाहना पुरा गर्ने उद्देश्यका साथ दोब्बर बजेट विनियोजन गरिएको बताउनुभयो।

जसमा सबैभन्दा धेरै बजेट पूर्वाधार विकास क्षेत्रका लागि ४९ दशमलव ५७ प्रतिशत अर्थात् ११ अर्ब आठ करोड ८९ लाख तीन हजार विनियोजन भएको छ। यसैगरी, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि कुल बजेटको २० दशमलव ९६ प्रतिशत अर्थात् चार अर्ब ६८ करोड ९८ लाख ६० हजार रकम विनियोजन गरिएको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।