अर्थ

एक महिनामा १ अर्ब ७२ करोड रुपैयाँको विद्युत् भारत निर्यात



काठमाडौँ, १७ असार । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेञ्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको छ ।

प्रााधिकरणका अनुसार सुरुमा दुई वटा विद्युत् गृहकाे ३९ मेगावाट विद्युत् दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठदेखि दैनिक रुपमा ३ सय ६४ मेगावाट विद्युत् भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । प्राधिकरणले यस अवधिमा विद्युत् बिक्रीको औसत दर सबैभन्दा बढी १५ जुन (१ असार) मा पाएको छ । त्यस दिनको प्रतियुनिट औसत दर १५ रुपैयाँ ९३ पैसा थियो । सबैभन्दा कम औसत दर २१ जुन (७ असार) मा थियो । त्यसदिन औसत दर प्रतियुनिट ४ रुपैयाँ ९२ पैसा थियो ।

यस अवधिमा ३ जुन (२० जेठ) मा सबैभन्दा कम ५६ लाख ६७ हजार रुपैयाँको विद्युत् बिक्री गरिएको छ । त्यसदिन ९ लाख ४ हजार ८ सय युनिट विद्युत् बिक्री गरिएको थियो । सबैभन्दा बढी १४ जुन (३१ जेठ) ७ करोड २८ लाख रुपैयाँको विद्युत् बिक्री भएको छ । त्यसदिन ७८ लाख १३ हजार ३ सय युनिट विद्युत् बिक्री गरिएको थियो ।