राजनीति

माओवादीलाई फकाउने र एमालेलाई चिढ्याउने कांग्रेसको रणनीति



काठमाडौँ, ५ माघ । प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले तेस्रो दल माओवादी केन्द्रलाई फकाउने र दोस्रो दल एमालेलाई चिढ्याउने रणनीति अख्तियार गरेको छ । एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि कांग्रेस संघ र प्रदेशका महत्वपूर्ण राजकीय पदबाट वञ्चित बनेको छ ।

पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघिको सत्ता गठबन्धनलाई निरन्तरता दिने प्रयास सुरु गरेको छ । कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताको फरक मतका बीच दाहाललाई विश्वासको मत दिएर राष्ट्रपति निर्वाचनमा कांग्रेसले माओवादी समर्थन खोजेको छ ।

माओवादी केन्द्रबाट राष्ट्रपति निर्वाचनमा साथ पाउने आश्वासन पाएको कांग्रेसले वाग्मतीसहितका केही प्रदेशका मुख्यमन्त्री (माओवादीका) लाई पनि विश्वासको मत दिएको छ । मधेस प्रदेशमा पनि कांग्रेस नेतृत्वको पुरानो गठबन्धनका सबै पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।