राजनीति

राष्ट्रपति निर्वाचनबारे रास्वपाको तीनबुँदे स्पष्टीकरण



काठमाडौँ, २६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनका सन्दर्भमा तीनबुँदे स्पष्टीकरण दिएको छ । पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले शुक्रबार बिहान फेसबुकमार्फत तीनबुँदे स्पष्टीकरण दिएका हुन् ।

तीनबुँदे स्पष्टीकरण:

१. हाम्रो वाचापत्रमा उल्लेख गरिएको गैरदलिय राष्ट्रपतिको अर्थ राष्ट्रिय स्वतन्त्र पार्टीको पनि नहुनु हो र पार्टीले त्यस्तो उम्मेदवार पार्टी बाहिरबाट खोज्नु पर्ने थियो । जुन अनुपातमा जनताले रास्वपालाई मत दिएका छन्, त्यो मतभारले त्यसरी प्रस्तावित व्यक्ति राष्ट्रपतिमा निर्वाचित नहुने निश्चित थियो । राष्ट्रपति जस्तो गरिमामय पदमा उम्मेदवार गैरदलिय हुन जरूरी त थियो नै, सोहि अनुरूप राष्ट्रियस्तरको व्यक्तित्व पनि हुनु आवश्यक थियो । हार्ने निश्चित भएको चुनावमा त्यस्तो गैर दलिय राष्ट्रिय व्यक्तित्व पार्टीले नपाएको कुरा सत्य हो र त्यस्ता व्यक्तित्वलाई रास्वपाको मात्र उम्मेदवार बनाएर उहाँहरूको गैरदलिय छविलाई पनि असर गर्छ कि भनेर हामी यसपटक एक स्टेप ब्याक हुन बाध्य भयौँ ।

२. हाम्रो वाचापत्र अनुरूप उम्मेदवार नभएपछी हामीसँग दुइ उम्मेदवार विकल्पका रुपमा थिए । यससन्दर्भमा गणतन्त्रको सिद्दान्तमा अघि बढेको पार्टीले निर्वाचन बहिस्कार गर्नु उपयुक्त थिएन । स्वविवेकको निर्णय गर्ने कि भन्ने विषयमा सासंदहरु बिच भएको छलफल पछि आफ्नो विवेकको प्रयोग गरि पार्टीको विना कुनै दवाव नै मतदान गर्नु भएको हो । उहाँहरूले छलफललाई आधार बनाएर पार्टी एक ढिक्का छ भन्ने सन्देश दिनु भयो जसप्रति पार्टी आफ्ना सासंदप्रति गर्व गर्छ ।

३. पार्टीका सासंदहरूले कुनै एक उम्मेदवार रोज्दा पनि विवादित हुने निश्चित थियो । भिन्दा भिन्दै उम्मेदवारमा मतदान गर्दा एकता छैन कि भन्ने सन्देश समेत जान सक्थ्यो । रास्वपालाई कुन बेला कसरी हानौँ भनेर बस्नेहरूका लागी रास्वपाले जे निर्णय लिए पनि यो उपयुक्त बेला थियो । पार्टीप्रति इमान्दार पार्टी सदस्य, पार्टीको भलो चिताउने शुभेच्छुक, सुझबुझ र अलिकति चिन्तन गर्ने जनता पार्टीले यस परिस्थितिमा चालेको कदमप्रति निराश हुनुपर्ने कुनै कारण नै छैन । बाँकी अवस्थामा मतभारका आधारमा जेजति गर्न हिँडेका छौँ, हौसला आवश्यक छ र तत् अनुसार नै मार्गदर्शन गरिरहनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।