राजनीति

संवैधानिक सीमा नाघ्दै निर्वाचन आयोग ?



काठमाडौँ, २७ फागुन । निर्वाचन आयोगले संवैधानिक सीमा, व्यवस्था र अधिकार विपरीत राजनीतिक निर्णय लिएर मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रयास थालेको छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनका क्रममा पनि विभिन्न दलका स्वार्थ पूरा गर्न राजनीतिक निर्णय लिँदै आएको आयोगले उपराष्ट्रपतिका विषयमा संविधानको व्याख्या आफू अनुकूल गरेको छ ।

पछिल्लो दिनमा विकास भएको राजनीतिक घटनाक्रमलाई समेत प्रभावित गर्ने गरी आयोगको पदाधिकारी बैठकले शुक्रबार उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने निर्णय गरेको हो । संविधानका कुनै पनि धारामा विवाद भए त्यसको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगको अधिकार र सीमाबाहिर गएर राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेको जनाउँदै फरक लिंगको उम्मेदवार हुनुपर्ने धारणा बाहिर ल्याएका हुन् ।

आयोगको शुक्रबारको पदाधिकारी बैठकले उपराष्ट्रपतिमा महिला नै उम्मेदवार हुनुपर्ने निर्णय गरेको जनाउँदै उनले पुरुषको उम्मेदवारी दर्ता नगर्न निर्देशन दिएको धारणा सार्वजनिक गरेका हुन् । संविधानको धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिंग वा समुदायको हुने व्यवस्था गरेको छ । त्यसको गलत व्याख्या गर्दै प्रमुख आयुक्त थपलियाले फरक लिंग हुनुपर्ने जनाउँदै दलीय स्वार्थ र चाहनाको पक्षपोषण गर्न खोजेको देखिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।