राजनीति

नेप्सेम्याकद्वारा मध्यपुरमा फोहोर वर्गिकरण शुरु



भक्तपुर, २७ फागुन । ‘सफा, स्वच्छ र हरियाली सहर’ निर्माण गर्ने लक्ष्यका साथ सञ्चालनमा रहेको नेप्सेम्याक सेवा प्रालीले मध्यपुर थिमी नगरपालिकामा फोहोर वर्गिकरणको शुभारम्भ गरेको छ । निकोसेरामा आज आयोजित एक कार्यक्रमका बिच नेप्सेम्याक, मध्यपुर नगरपालिका र सामाजिक संस्थाहरुको त्रिपक्षिय सहकार्यमा नगरपालिकाको वडा नं. ५ र ९ वडामा गरि पाँच हजार घर परिवारका किचनमा फोहोर वर्गिकरणको शुभारम्भ गरेको हो ।

आज कार्यक्रम गरी शुभारम्भ गरिएता पनि कार्यान्वयन भने चैत्र १ गते देखी हुने नेप्सेम्याकले जानकारी दिएको छ । चैत्र १ गतेदेखी टोल सुधार समितिसँगको समन्वय र सहकार्यमा उक्त अभियान चल्नेछ । जसमा हप्ताको दुई दिन कुहिने फोहोर संकलन हुनेछ भने हप्ताको एक दिन नकुहिने फोहोर संकलन नेप्सेम्याकले गर्ने भएको छ । सोही अनुसार आफ्नो किचनको फोहोर छुट्याएर राख्नको लागि स्थानीयवासीलाई आग्रह समेत गरेको छ । अहिले दुई वटा वडामा मात्र शुरु गरिएता पनि वर्गिकरणको कार्य नगरपालिकासँगको सहकार्यमा आगामी दिनमा ९ वटै वडामा गरिने नेप्सेम्याकले जनाएको छ । नेप्सेम्याकले सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा समेत उक्त अभियान यस अघिदेखी नै चलाईरहेको छ । उक्त अभियान सञ्चालन गरेर नेप्सेम्याकले राज्यको एउटा अभिन्न अंगकै रुपमा कार्य गर्दै आएको बुझाइरहेको छ ।

कुहिने फोहोरलाई कम्पोष्ट मल बनाई करेसावारी, कौशी खेती तथा कृषी उत्पादनजन्य कार्यमा प्रयोग गर्न सकिने जनाइएको छ । नकुहिने फोहोरलाई भने बञ्चरेडाँडा र सिसडोलमा लगि डम्पिङ गरिने गरिएको छ । उपत्यकाकै सवैभन्दा बढी प्रदुषण भएको नगरपालिकाको रुपमा मध्यपुर रहेकाले वातावरण प्रदुषण नियन्त्रण गर्न ठूलो चुनौतिक खडा हुने भएकाले सो कुरामा स्थानीय तहले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा बोल्दै मध्यपुर नगरपालिकाका प्र्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन र फोहोर मैला व्यवस्थापन गर्न ऐन बनाइसकेको जानकारी गराउनुभयो । ऐन बनिसकेकाले अब कार्यान्वयनमा लैजाने चरणमा रहेको उल्लेख गर्दै प्रमुख श्रेष्ठले नेप्सेम्याक र फुलवारीसँग सहकार्य गरी साझा धारणाका साथ अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकाले फोहोर मैला व्यवस्थापन गर्नको लागि ऐन बनाइसहेको छ । अब कार्यान्वयन हुन्छ । अबको एक महिना भित्र नै नेप्सेम्याक, फुलवारी जस्ता संस्थाहरुसँग सहकार्य गरी साझा अवधारण बनाई सम्झौता नै गरेर सहकार्य गर्छौं, फोहोर व्यवस्थापन गरी मध्यपुरको प्रदुषणलाई न्युनिकरणको अभियान चलाउँछौं ।’

साधन र स्रोतको अभावले फोहोर व्यवस्थापनमा ठूलो चुनौति रहेको उल्लेख गर्दै उहाँले उपत्यकाका १८ वटै स्थानीय तहसँग सहकार्य गरी फोहोर व्यवस्थापनमा लाग्ने प्रतिवद्धता जनाउनुभयो । वायुप्रदुषण चुनौतिको विषय बनिरहेको उल्लेख गर्दै उहाँले न्युनिकरणको खोजि स्थानीय तहले मात्र नभई राज्यका तीनवटै तहले खोजि गरिरहेको बताउनुभयो । नगरपालिकाले आगामी दिनमा हरियाली प्रवद्र्धका अभियानहरु चलाउने समेत बताउनुभयो ।