राजनीति

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा जुटेन सहमति: तीन जना उम्मेदवार



काठमाडौँ, २७ फागुन । १० दलमा उपराष्ट्रपतिको उम्मेदवारबारे सहमति जुट्न सकेन ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले साझा उम्मेदवार चयन गर्न नसकेपछि तीन जना उम्मेदवार हुने भएका छन् ।

शनिबार बिहान बालुवाटारमा बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भए पनि कुनै पनि सहमति जुट्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिएका हुन् । सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र यसबारे भोलिसम्ममा सहमति जुटाउने तयारी भएको अध्यक्ष राउतले बताए ।

उनले भने, ‘८ दलबाट आज ३ जनाले उम्मेदवारले दर्ता गर्नेछन् । भोलि फेरि शीर्ष नेताबीच हुने छलफलले अन्तिम टुंगो लगाउने कुरा भएको छ । जनमत पार्टीकी ममता झा र जसपाबाट दुई जना उपराष्ट्रपतिको उम्मेदवार हुनेछन् ।’

जसपाले पनि महिला र पुरुष २ जना उम्मेदवार उठाउने भन्दै उनले भोलि सम्ममा निष्कर्षमा पुगेर गठबन्धनको एक मात्र उम्मेदवार हुने जानकारी दिए। राष्ट्रपति पुरूष भएपछि उपराष्ट्रपतिमा जुनसुकै समुदायको भए पनि महिला नै हुनुपर्ने एउटा जिम्मेवारी हुने भएकाले जनमत पार्टीका तर्फबाट ममता झालाई अगाडि सारिएको राउतले बताए ।