Banner News

उपराष्ट्रपतिमा शाक्यको उम्मेदवारी दर्ता



काठमाडौ २७ फागुन । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनु भएको छ । चर्चित महिला नेतृ शाक्यले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसहित नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।

शाक्यको प्रस्तावकमा पार्टी अध्‍यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, सचिव छविलाल विश्वकर्मा,गोकर्ण विष्ट र रघुवीर महासेठ हुनुहुन्छ भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ,महेश बर्तौला,तुलसा दाहाल,भगवति न्यौपाने र यशोदा रिजाल रहनु भएको छ ।
आज बिहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार शाक्यले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो ।
बागमति प्रदेशकी मुख्यमन्त्री र संघीय सरकारको मन्त्री बनिसक्नु भएकी शाक्यले नयाँलाई अवसर दिनुपर्ने भन्दै मंसिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गर्नुभएको थियो ।
उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेपछि शाक्यले लोकतन्त्र बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको र यस बिषयमा सवैले सोच्ने बेला आएको बताउनु भयो ।