राजनीति

अब शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छ : प्रधानमन्त्री दाहाल



काठमाडौँ, २७ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरी शक्तिशाली कम्युनिस्ट केन्द्र बन्ने बताएका छन् ।

आज दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरू गरिने बताए ।

उनले भने, ‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन’ ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ।’

उनले माओवादी धाराका कम्युनिष्ट घटकबीच समाजवादी मोर्चा बनाउने विषयमा छलफल भइरहेको समेत बताए । उनले भने– ‘माओवादी धाराका कम्युनिस्ट घटकहरूबीच छलफल भइरहेको छ। शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धि विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्छ भन्ने हाम्रो साझा मत छ। भोलि संयुक्त अपिल गर्दैछौँ, पत्रकार सम्मलेन गर्दछौँ। केही दिनमा समाजवादी मोर्चा बन्छ।’