राजनीति

विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी



काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाललले प्रतिनिधिसभाबाट विश्वासको मत नलिएसम्म संघीय संसदको बैठक नबस्ने देखिएको छ । गत फागुन १७ गते प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको छ । त्यसभित्र नेपाली कांग्रेसहितका दलहरूलाई सरकारमा सहभागी गराएर दाहालले विश्वासको मत लिने तयारीमा जुटेका छन् ।

चैत ३ गते उपराष्ट्रपति निर्वाचनपछि गठबन्धनका दलहरू सरकार विस्तारसहितको काममा लाग्ने र चैत ८ गते प्रतिनिधिसभाबाट दाहालले विश्वासको मत लिने तयारीमा जुटेको स्रोतको दाबी छ । सोही अनुसार सोमबार बोलाइएको राष्ट्रियसभाको बैठक पनि चैत ८ गतेसम्मका लागि सूचना जारी गरी स्थगित गरिएको छ । सत्तामा रहेका प्रमुख दुई दल एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि दुवै दल प्रतिपक्षमा बस्ने तर प्रतिपक्षमा बसेको कांग्रेस प्रधानमन्त्री दाहालले विश्वासको मत नलिएसम्म प्रतिपक्षमा बस्ने भएपछि संसद्का बैठक प्रभावित हुँदै आएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।