राजनीति

जनताको जनजीविकासँग जोडिने गरी काम गर्न रास्वपाको निर्देशन



चितवन, ३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ । यही फागुन २७ गतेदेखि चितवनको सौराहामा जारी पार्टीको आन्तरिक प्रशिक्षणका क्रममा सहभागी नेताहरूलाई उत्पादनकेन्द्रित रणनीति बनाएर काम गर्न निर्देशन दिइएको हो ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले जनताको दैनिक जीवनसँग जोडिने गरी काम गर्न सबै तहका नेतृत्वलाई निर्देशन दिए । उनले उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने गरी संगठनले काम गर्नुपर्ने बताएको लामिछानेका निजी सचिव प्रकाश सिग्देलले जानकारी दिए । jउनका अनुसार सभापति लामिछानेले संगठनलाई चलयमान बनाउन स्थानीयस्तरसम्म संगठन विस्तार आवश्यक रहेको उल्लेख गरे । अब स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउने गरी तल्लो तहबाट काम गर्न जरुरी रहेको उनको भनाइ थियो ।

प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य र प्रदेश कमिटीका पदाधिकारीहरू सहभागी रहेको निजी सचिव सिग्देलले बताए । प्रशिक्षणमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री डा. मुकुल ढकाल, संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीलगायत पदाधिकारीले प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा पार्टीको विधान, सांगठनिक संरचना, अधिकारका विषयमा छलफल भएको उनले बताए । कार्यक्रम आजसम्म सञ्चालन हुने बताइएको छ । रासस