अर्थ

भक्तपुरको पलाँसे–नङखेल बन्यो रियल इस्टेटको नयाँ हटस्पट दुई प्लटिङमा एक हजार घडेरी



काठमाडौं २८ फागुन । भक्तपुरको सूर्यविनायकबाट नलिनचोक हुँदै साँगातिर जाँदा दायाँतर्फ ९बायाँतर्फ फन भ्याली पार्क० विशाल प्लटिङ देख्‍न सक्नुहुन्छ ।

सडक छेवैमा २८८ रोपनी क्षेत्रफल फैलिएको यस प्लटिङमा चार सयभन्दा बढी घडेरी हुने परियोजनाको फिल्ड म्यानेजर भुवन कुस्माले बताए । यो देख्‍नमा मात्र विशाल छैन्, पछिल्लो समय बनेको सबैभन्दा सुविधा सम्पन्‍न प्लटिङ पनि हो ।
कुल २८८ रोपनीमध्ये ५३ रोपनी प्रतिजग्गा रहेको हुँदा खुलै छाडिएको छ । प्लटिङको बिचमा पर्ने खोल्सोलाई व्यवस्थित गर्दै दायाँ बायाँ हरियाली बनाइएको छ । चौडा सडक र हरियालीले प्लटिङ आकर्षक देखिएको छ ।

केही महिनाअघि भक्तपुरकै नङखेलस्थित एउटा प्लटिङ सामाजिक सञ्‍जाल टिकटकमा निकै भाइरल बन्यो । ११० रोपनी क्षेत्रफलमा बनाइएको चौडा पक्की सडक र चिटिक्क मिलेका घडेरीहरुले मन नलोभ्याउने कुरै भएन । डोलेश्‍वर मन्दिर नजिकै रहेको प्लटिङमा घडेरी किन्‍नमात्र होइन्, घुम्‍न जाने थलो समेत बन्यो ।
उपत्यकामा व्यवस्थित र सुविधासम्पन्‍न आवास परियोजनाको परिकल्पना गरी निक भुजीकिक हाउजिङ प्रालिले प्लटिङ गरेको हो । सोही परियोजना छेवैको थप जग्गा लिएर भाइरल प्लटिङलाई ३ सय रोपनीमा विस्तार गरिँदै छ । ‘पहिलो र दोस्रो चरणमा गरी करिव ६ सय घडेरी तयार हुनेछन्’ निक भुजीकिकका प्रोजेक्ट डाइरेक्टर लक्ष्मी सुन्दर कुस्माले भने ।

भक्तपुरबाट साँगातिर जाँदा अग्लो शिव महादेव मुर्तीको तलपट्टी भिरालो पाखोमा अर्को प्लटिङ देखिन्छ । सडकबाटै देखिने प्लटिङमा पनि धेरै घडेरी बनाइएको छ । यस्तै, नङखेलको भित्तोमा एउटा करिव २२–२४ रोपनी र अर्को २७ रोपनीमा दुईवटा प्लटिङ तयार भइरहेका छन् ।

यस्तै, नलिन चोकबाट अगाडि बढ्दा हरियाली फाँटको बिचमा प्लटिङ गरेको देखिन्छ ।
पाखैभरी प्लटिङ

आइतबार नेपालहोम्सको टोली साँगा, पलाँसे, नङखेल लगायतका ठाउँहरुमा पुग्दा धमाधम प्लटिङको काम भइरहेको देखिन्थ्यो ।

पछिल्लो समय भक्तपुरबाट काभ्रेतिर जाने सडकको दायाँ–बायाँ नलिनचोक, पलाँसे, नङखेललगायत क्षेत्रमा व्यापक प्लटिङ भइरहेको छ । काठमाडौं उपत्यकाको मुख्य शहरी क्षेत्रमा खाली जग्गा कम हुनुका साथै मूल्य पनि चर्को भएपछि रियल इस्टेट डेभलपर कम्पनीहरुले काँठ क्षेत्रलाई तार्गेट गरेको पाइन्छ ।
हामीले माथि उल्लेख गरेका पलाँसे र नङखेलका दुईवटै ठूला प्लटिङका लगानीकर्ता एउटै हुन् । ग्रिन भ्यालिज प्रालिको नामबाट पलाँसेमा ४०० घडेरीको प्लटिङ बनिरहेको छ भने निक भुजीकिक हाउजिङ प्रालिको नामबाट नङखेलमा ६०० घडेरीको प्लटिङमा धमाधम काम भइरहेको छ ।

निक भुजीकिकका प्रोजेक्ट डाइरेक्टर कुस्माका अनुसार नङखेलको प्रोजेक्टमा स्थानीयसहित ६ जनाको लगानी छ भने पलाँसेको प्रोजेक्टमा भने एक दर्जन हाराहारी लगानीकर्ता छन् ।

दुबै प्लटिङ पछिल्लो समय उपत्यकामा बनिरहेको सबैभन्दा सुविधा सम्पन्‍न र निजी क्षेत्रकै ठूलो परियोजना हुन् भन्दा फरक नपर्ला । डेढ दशकदेखि जग्गा प्लटिङ गर्दै आइरहेका उनीहरुले काभ्रेको साँगामा पनि ठूलो क्षेत्रफलमा प्लटिङ गर्दैछन् ।
भक्तपुरको दुबै ठाउँमा स्थानीयहरुसँग ‘ल्यान्ड पुलिङ’ गरेर व्यवस्थित प्लटिङ आयोजना निर्माण गरेको कुस्माको भनाई छ । स्थानीयहरुको जग्गाको प्लट मिलान गर्दा ३५ प्रतिशत जग्गा काटेर हस्तान्तरण गरिएको छ ।
चौडा सडक, पार्क र प्लटिङको लगानी र अन्य सुविधाहरु पनि उपलब्ध गराउनुपर्ने हुँदा केही प्रतिशत जग्गा काटेर दिनुपरेको हो । सरकारले पनि व्यवस्थित वस्ती विकासका परियोजनामा ‘ल्यान्ड पुलिङ’ गर्दा यही नै तरिका अपनाउने गर्छ ।