राजनीति

सभामुख घिमिरेले लिए नेपाली श्रमिकको अवस्थाबारे जानकारी



काठमाडौँ, ३० फागुन । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४६औँ महासभामा भाग लिन बहराइन पुगेका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिएका छन् ।

मंगलबार बिहान मनामास्थित नेपाली दूतावासमा पुगेका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावासका अधिकारीलगायत व्यक्तिसँग नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिएका हुन् । बहराइनमा नेपाली श्रमिकले न्यूनतम तलबमा काम गरिरहेको, राहदानी नवीकरण र भिसा प्रक्रियामा समस्या झेल्नुपरेको अधिकारीहरूले जानकारी गराएका थिए ।

भेटमा सहभागी सभामुखका प्रमुख स्वकीयसचिव तेजप्रकाश भट्टराईका अनुसार अधिकारीहरूले काठमाडौंमा बहराइनको दूतावास खोल्न सरकारले पहल गर्नुपर्ने धारणा राखेका थिए । सभामुखले बहराइन भ्रमणका क्रममा नेपाली श्रमिकको तलब वृद्धिलगायत विषयमा आफ्ना समकक्षीसँग कुरा राखेको जानकारी दिएका थिए । ६ दिने भ्रमण सम्पन्न गरी सभामुख नेतृत्वको नौ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार स्वदेश फर्कंदै छ । रासस