राजनीति

उपराष्ट्रपतिको निर्वाचनमा पनि राप्रपा तटस्थ बस्ने



काठमाडौ १ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने भएको छ । धुम्वाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा कसैलाई पनि मत नदिने निर्णय गरेको छ । यस अघि फागुन २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपा तटस्थ नै बसेको थियो ।
फागुन २५ मा सम्पन्न राष्ट्रपति चुनावमा पनि राप्रपा मतदान प्रक्रियामा सहभागी भएको थिएन ।

किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदूरदर्शी, अमानवीय र अनुचित भएको पनि राप्रपाको ठहर छ ।
यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपूर्तिको व्यवस्था मिलाउन र मल आपूर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यसरी नै राप्रपाले रासायनिक मल सम्बन्धमा पार्टीको ७७ वटै जिल्ला समितिले एक हप्ता भित्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय पनि गरेको छ ।