Banner News

गठबन्धनमा उपराष्ट्रपतिबारे जुटेन सहमति, भोलि पुन: बैठक बस्ने



काठमाडौँ, १ चैत । सत्तारुढ १० दलको बैठकमा उपराष्ट्रपतिबारे सहमति हुन नसकेपछि भोलिका लागि पुन: बैठक बोलाइएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनबाट उपराष्ट्रपतिको साझा उम्मेदवार कसलाई बनाउने भन्नेबारे सकारात्मक छलफल भएपनि सहमति जुट्न नसकेकाे माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए । गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरु समझदारी खोजी रहेका छन् ।

उनले भने, ‘उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको थियो । छलफल सकारात्मक भएको छ । भोलि यो विषयमा बसेर एउटा निर्णय हुनेछ । आवश्यक्ताअनुसार बैठक बस्नेछ । बाँकी विषयमा पनि सामान्य छलफल सुरु भएको छ ।’