Banner News

बजार अनुगमन गर्न र राजश्व छली रोक्ने कदम चाल्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

आज दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको छलफलमा प्रधानमन्त्रीले भने, ‘राजश्व छली नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन् । ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ । बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा अनुगमन गर्नुहोस् ।’

अवैध आयात नियन्त्रण गर्न राजश्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिए । प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार प्रचण्डले भने, ‘कच्चा पदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा कम्तिमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरावलोकन गर्ने तयारी गर्नुस्। सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुस् ।’