अर्थ

घट्यो स्वास्थ्य मन्त्रालयको बजेट सिलिङ



काठमाडौं, १७ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालु आर्थिक वर्षभन्दा बजेटको सिलिङ कम पाएको छ ।

मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८०/८१ का लागि जम्मा ४१ अर्ब ४५ करोड ७१ लाख बजेटको सिलिङ तोकिएको हो ।राष्ट्रिय योजना आयोगले हाल स्वास्थ्य मन्त्रालयका लागि तोकिएको बजेटको सिलिङ चालू आवभन्दा करिब २८ अर्ब कम हो । बजेट सिलिङ तोक्दा ९ वटा मन्त्रालयको बजेट घटाइएको छ ।

जसमध्ये स्वास्थ्य मन्त्रालयको पनि बजेट सिलिङ घटेर आएको स्वास्थ्य मन्त्रालयका नीति योजना शाखाका उपसचिव लीलाराज पौडेलले बताए । स्वास्थ्य मन्त्रालयले अघिल्लो महिना तोकिएको सिलिङ बजेट भन्दा २ अर्ब रुपैयाँ घटाएर योजना आयोगले सिलिङ पठाएको हो । मन्त्रालयका अनुसार आगामी आवका लागि ४१ अर्ब ४५ करोड ७१ लाख बजेटमध्ये चालु खर्चमा ३४ अर्व ७७ करोड ७५ लाख र पुँजिगततर्फ ६ अर्व ६७ करोड ९६ लाख छुट्याइएको हो । आगामी आर्थिक वर्षका लागि सिलिङ तोकिएको बजेटमध्ये नेपाल सरकारबाट ३१ अर्ब ४५ करोड १३ लाख रुपैँया, वैदेशिक अनुदान १ अर्ब ७५ करोड ५८ लाख र स्वास्थ्यका लागि बैदेशिक ऋण ८ अर्व २५ करोड रुपैयाँ रहेको छ ।