राजनीति

सुदूरपश्चिमलाई भारतसँग जाेड्न आरजु राणाकाे आग्रह



धनगढी, ४ बैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद आरजु राणाले सुदूरपश्चिम प्रदेशलाई भारतसँग जोड्न भारतसँग आग्रह गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशमा शनिबारबाट शुरु भएको अन्तरदेशीय मानसखण्ड सम्मेलनको समापन सत्रमा राणाले भारतीय राजदूत नवीन श्रीवास्तव र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग दुई देशबीचको अर्थसामाजिक सम्बन्ध थप मजबुद बनाउन यो आवश्यक रहेको बताउनुभयो ।

डडेल्धुरा जिल्लालाई भारतसँग जोड्ने पुल निर्माण, गौरीफन्टा नाकाबाट हुने अन्तरदेशीय व्यापार तथा आवागमनलाई सहजीकरण र क्षेत्रीय विमानस्थल निर्माणका लागि नेपालले पहल एवं भारत सरकारले सहजीकरण गर्नुपर्ने उहाँको भनाइ छ ।

“डडेल्धुरा जिल्लालाई भारतसँग जोड्न पक्की पुल निर्माणका लागि पहल गर्न र गौरीफन्टा नाका सहज बनाउन अति आवश्यक छ”, राणाले भन्नुभयो, ‘‘गौरीफन्टाको सडकलाई तत्काल फराकिलो बनाउन नसकेपनि कम्तीमा स्तरोन्नति गरी नाका सहजीकरणमा भारतले सहयोग गर्नुपर्छ ।” गौरीफन्टा नाकाबाट हुने दुईपक्षीय व्यापार र आवागमनमा भारतीय पक्षले पछिल्लो समय दुदुवा नेसनल पार्कका नाममा कडाइ गर्दै आएको उहाँको भनाइ छ ।

राणाले सुदूरपश्चिम प्रदेशमा क्षेत्रीय विमानस्थल निर्माणको आवश्यकता पनि औंल्याउनुभयो । सुदूरपश्चिम प्रदेश अहिले भौतिक पूर्वाधार विकासमा राम्रो बनिसकेको भएपनि यहाँको जनशक्ति विदेशीने क्रम अझै नरोकिएको उहाँको भनाइ छ । “पछिल्लो समय यहाँको पूर्वाधारमा निकै ठूलो परिवर्तन भएको छ ।

तर यहाँको जनशक्ति विभिन्न देशमा गइरहेका छन् ।” राणाले भन्नुभयो, “नेपालका लागि काम गरौं र यहीँ श्रम गरौं भन्ने अवस्था बनाउन यहीँ रोजीरोटी कमाउने र यहीँ राम्रो सपना देख्ने अवस्था सिर्जना गर्नका लागि सबै आआफ्नो क्षेत्रबाट लागौं ।” मानसखण्ड सम्मेलनको औचित्यबारे बोल्नुहुँदै सांसद राणाले नयाँ युगलाई कसरी परिभाषित गर्ने र कसरी अघि बढ्ने भन्नेबारे यसले मार्ग रेखाङ्कन गरेको बताउनुभयो । “सम्मेलनमा विद्धान तथा प्राज्ञहरुले मानसखण्ड करिडोरको मार्गचित्र कोर्नुभएको छ, यसलाई जीवन्त बनाएर अघि बढ्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

सरकार यतिबेला बजेट निर्माणको चरणमा रहेकाले मानसखण्ड करिडोर निर्माणका लागि सुदूरपश्चिम प्रदेशले पहल गर्नुपर्ने उहाँको सुझाव छ । भारतले आफ्नो क्षेत्रमा करिडोर निर्माण गरिरहेकाले नेपालले पनि पहल थाल्नुपर्ने उहाँको भनाइ छ । त्यस्तै, विश्व ध्रुवीकरणका सन्दर्भमा नेपाल सधैं मानव अधिकार र प्रजातन्त्रको पक्षमा उभिने पनि राणाले स्पष्ट पार्नुभयो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले मानसखण्ड करिडोर निर्माण गरिरहेकाले नेपालले पनि आफ्नो भू–भागभित्रका क्षेत्रमा काम थाल्नुपर्ने बताउनुभयो । सुदूरपश्चिममा अन्तरदेशीय सडक सञ्जाल थप गर्न भारत तयार रहेको पनि उहाँको भनाइ छ ।