Banner News

खहरे खोला डरलाग्दो आउँछ, छिनभरमै सुकेर जान्छ: प्रधानमन्त्री



तनहुँ, ६ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले खहरे खोला डरलाग्दो गरी आए पनि क्षणभरमा सुकेर जाने टिप्पणी गरेका छन् ।

आज तनहुँको डुम्रेमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै खहरे खोलाको संज्ञा दिएका हुन् ।

उनले भने, ‘कहिलेकाहीँ खहरे खोला डरलाग्दो गरी आउँछ त्यो खहरे छिनभरमै सुक्छ । नदी गम्भीर ढङ्गले आफ्नै गतिमा महासागरतिर लम्किरहन्छ । यो कुरा नर्बिसौं’ ‘तनहुँ भानुभक्तजस्तो कवि जन्मिएको जिल्ला त्यसैमा अहिले राष्ट्रपति रामचन्द्र पौडेल जन्मिएको जिल्ला पनि हो । देवघाटजस्तो पवित्र स्थल परिवर्तनका लागि सङ्घर्ष र बलिदान गरेको जिल्ला हो । गोविन्द भट्टराईजस्तो त्याग तपस्या गरेका व्यक्ति जन्मेको जिल्ला भएकाले सबैले जिताऔँ ।’

अहिले कुनै आँधी हुरी बताससँग नआत्तिएर सतिसालजस्तै दरो भएर शान्ति र विकासका निम्ति प्रतिबद्धता व्यक्त गर्नुपर्ने प्रचण्डले बताए । यो उपनिर्वाचनमा गोविन्द भट्टराईलाई जिताउने नभई गठबन्धनलाई जिताउने समेत उनले बताए । चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यसअघि अर्कै गठबन्धन बनाए पनि पछि कांग्रेससँगै गठबन्धन गर्ने अवस्थामा आएको बताए ।