Banner News

उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अविध सुरु



काठमाडौँ, ७ बैशाख । यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू हुने भएको हो ।

प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू हुने भएको हो । उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था गरिएको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइने छैन । आयोगले मौन अवधिको समयमा सामाजिक सञ्जालको दुरुपयोग गरेर मत माग्ने काम हुन सक्ने भन्दै यस्ता गतिविधिको पनि निगरानी गरिने बताएको छ ।

एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको आयोगले सम्बन्धित सबैमा स्मरण गराएको छ ।