राजनीति

प्रधानन्यायाधीशमा सहमति खोज्दै प्रधानमन्त्री दाहाल



काठमाडौँ, ९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा शुक्रबार पनि सहमति जुट्न सकेन ।

प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बालकोटमा भएको सहमतिअनुसार प्रधानमन्त्री दाहालले बुधबार प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बोलाएका थिए । तर प्रमुख विपक्षी दलका नेता ओलीले पहिला संसदीय समिति भागबन्डा गर्नुपर्ने अडान राखेपछि सवैधानिक परिषद् बैठक कुनै निर्णयबिना टुंगिएको थियो ।

प्रधानमन्त्री दाहालले ओलीसँग सहमति कायम गरेर प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस प्रक्रिया अघि बढाउन खोजेका छन् । सहमति जुटाउने प्रयासस्वरूप दाहालले शुक्रबार फेरि ओलीसँग छलफल गरेका छन् । तर ओली पूर्ववत् अडानमा कायमै रहेपछि सहमति जुट्न नसकेको प्रधानमन्त्री दाहालनिकट स्रोतको दाबी छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।