राजनीति

तीन क्षेत्रमा आज उपनिर्वाचन हुँदै



बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो । रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो ।
आयोगले मतदानका दिन पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइएको जनाएको छ । मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न आयोगले आह्वान गरेको छ ।