राजनीति

मदन–आश्रित स्मृति दिवसले वामपन्थीबीच सहकार्य गर्ने प्रेरणा दिन्छ: प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, ३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन–आश्रित दिवसले कम्युनिष्ट तथा वामपन्थी शक्तिबीच सहकार्य गर्न प्रेरणा दिने बताएका छन् ।

३० औं मदन–आश्रित स्मृति दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले ३० औं मदन आश्रित स्मृति दिवसलाई स्मरण गर्दैै प्रधानमन्त्री प्रचण्डले सहकार्य र एकताका लागि आजको दिन विशेष रहेको बताए ।

‘आज ३० औँ मदन–आश्रित स्मृति दिवस । रहस्यमय दासढुंगा दुर्घटनामा परी दिवंगत वामपन्थी आन्दोलनका मूर्धन्य व्यक्तित्व मदन भण्डारी र जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु’ उनले सन्देशमा भनेका छन्, ‘यस दिनले कम्युनिस्ट एवं वामपन्थीहरूबीच सहकार्य र एकताका निम्ति प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।’

नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुंगामा दुर्घटनामा मृत्यु भएको थियो। एमालेले यसलाई हत्याकाण्ड भन्दै आएको छ।